एसियाडका लागि कहाँ प्रशिक्षण गर्दैछन् नेपाली खेलाडी ?

श्रावण २२, २०८३ |खेल ब्युरो
एसियाडका लागि कहाँ प्रशिक्षण गर्दैछन् नेपाली खेलाडी ?

काठमाडौं । बक्सिङ विदेश जाने भएसँगै नेपालका नौ खेल वैदेशिक प्रशिक्षणमा छन् । 

जापानमा असोजमा हुने २०औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यलाई जीवित तुल्याउन सरकारले धेरै खेललाई वैदेशिक प्रशिक्षणमा पठाइरहेको हो । 

आज हामी कुन टिम कहाँ कसरी प्रशिक्षण गर्दैछ भन्नेबारे चर्चा गर्दैछौं ।

जापानको आइची-नागोयामा आयोजना हुन लागेको २०औँ एसियाली खेलकुद आगामी असोज ३ गतेदेखि सुरु हुँदैछ । त्यसका लागि १० खेलमध्ये एक खेलका पूरा र केही खेलका आंशिक खेलाडी वैदेशिक प्रशिक्षणमा छन् । एसियाडका लागि नेपालको तयारी अघिल्ला संस्करणभन्दा थप व्यवस्थित, योजनाबद्ध र लक्ष्य केन्द्रित रहेको खेलकुद परिषद्को दाबी छ । 

विभिन्न खेलका खेलाडी अहिले विशेष अभ्यासमा व्यस्त छन् भने केही खेलाडी विदेशमा अन्तर्राष्ट्रिय प्रशिक्षणमा छन् । उसु, साइक्लिङ, गल्फ, तेक्वान्दो, टेनिस, पौडी र टेबलटेनिसका खेलाडी विदेशमा अभ्यास गरिरहेका हुन् । त्यस्तै स्केटबोर्ड, कुस्ती तथा पुरुष-महिला कबड्डीका सम्पूर्ण टोलीहरू पनि विदेशमै प्रशिक्षणमा छन् ।

कबड्डी नेपालको सबैभन्दा ठूलो टोलीमध्ये एक हो, जसमा १२ महिला र १२ पुरुष गरी २४ खेलाडी सहभागी छन् । चार प्रशिक्षकसहितको यो टोली विशेष तयारीका लागि भारतमा छ । अघिल्लो एसियाली खेलकुदमा ऐतिहासिक कास्य जितेको कबड्डी टिमले भारतको हरियाण दादरीको भाइब्रेन्ट इन्टरनेसनल स्कुल एन्ड कबड्डी एकेडेमीमा अभ्यास गरिरहेको छ । 

त्यहाँ मलेसिया, थाइल्यान्डको टिमले पनि अभ्यास गरेका थिए । भारतीय कबड्डी टिमको पूर्वकप्तानले चलाएको यो एकेडमीले धेरै उत्कृष्ट खेलाडी उत्पादन गरेको छ । पुरुष टिमले चाहिँ भारतको दुई फरक फरक एकेडेमीमा अभ्यास गरेका छन् । शनिबारबाट पुरुष टिमले भारतको उत्तर प्रदेशको बिके एकेडेमीमा अभ्यास गर्नेछ । 

भारतका प्रख्यात कबड्डी खेलाडी नितिन कोमरको यो एकेडेमीमा प्रो कबड्डीका विभिन्न टिमहरुले प्रशिक्षण गर्ने गरेका छन् । कुस्ती टोली भारतको नयाँ दिल्लीमा अभ्यासरत छ । यो टिम भारत गएको चार साता हुन लागेको छ । त्यहाँ नेपाली र भारतीय प्रशिक्षकले प्रशिक्षण गराइहेका छन् । 

नेपाली टिमले भारतमा प्रदेश स्तरका खेलाडीसँग सुविधासम्पन्न एकेडेमीमा अभ्यास गरिरहेको हो । उसुको थाउलो टोली चीनको कुन्मिङस्थित युनान विश्वविद्यालयमा प्रशिक्षणरत छ । यहाँ उनीहरूले प्राविधिक दक्षता र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा ध्यान केन्द्रित गरेका छन् । 

विश्वविद्यायले अभ्यास गराउने र राजदूतावासले सहयोग गर्ने भएको कारण यो एकेडेमी निकै सुविधासम्पन्न एकेडेमी हो । ओलम्पिक सोलिडारिटी कोर्सअन्तर्गत साइक्लिङकी उषा खनालले क्यानडामा अभ्यास गरिहेकी छन् । राम्रो अभ्यास भइरहेको उनले क्यानडाको रकी माउन्टेन क्षेत्रमा अभ्यास गरिरहेकी हुन् । 

त्यसपछि उनलाई संघले अमेरिका पठाउने तयारी गरेको छ । जहाँ उनले अझ राम्रो अभ्यास पाउनेछिन् । टेबलटेनिसतर्फ राष्ट्रिय च्याम्पियनद्वय संयोग कपाली र योङ्गी पौडेल दक्षिण कोरियाको सिओलस्थित डोक्सान हाइ स्कुलमा करिब एक महिना लामो विशेष प्रशिक्षणमा छन् । 

त्यहाँ हाइ स्कुल ट्रेनिङ सेन्टरमा उनीहरुले अभ्यास गरिहेका हुन् । १९८८ सिओल ओलम्पिकको गोल्ड मेडलिस्ट यान योङझाले उनीहलाई अभ्यास गराइरहेका छन् । बोक्तान हाइ स्कुलमा एक महिनाको अभ्यास हुनेछ । बाँकी ६ जना खेलाडीलाई संघले सेप्टेम्बर १ बाट थाइल्यान्डमा पठाउने छ । 

थाइल्यान्डको संघले प्रशिक्षणका लागि बसोबास र अभ्यासको सुविधा दिनेछ । त्यहाँको अभ्यास विशेष र माथिल्लो स्तरको हुने भएकाले नेपालले पठाएको हो । स्केटबोर्ड टोली थाइल्यान्डको बैंककमा प्रशिक्षणमा व्यस्त छ र अन्य खेलहरूमा पनि खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धाका लागि सक्षम बनाउन विशेष ध्यान दिइएको छ । 

स्वदेशमा रहेका खेलाडीहरुले साउन १८ गतेदेखि औपचारीक रुपमा बन्द प्रशिक्षण सुरु गरेका छन् । महादेशीय प्रतियोगितामा नेपालका २२ खेलको एक सय ३६ खेलाडीले खेल्दैछन् । जहाँ ८० पुरुष र ५६ महिला खेलाडी हुँदा टिममा समावेश सबै सदस्य गरी कुल १ सय ६८ जना हुनेछन्। 

एसियाली खेलकुदमा नेपालको सहभागिता यहीँ टिमले गर्नेछ ।