राष्ट्रिय परिचय पत्र जारी गर्ने प्रणालीमै समस्या

२२ दिनदेखि कर तिर्नदेखि नागरिकता र राहदानी पाउन झमेला
नागरिकका दुख देख्दादेख्दै विभाग भन्छ - सेवा रोकिएको छैन
श्रावण २२, २०८३ |विकास आचार्य
राष्ट्रिय परिचय पत्र जारी गर्ने प्रणालीमै समस्या

काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली- एनआइडीएमआइएसमा समस्या देखिएपछि हाल राष्ट्रिय परिचयपत्र बनाउन देखि १३ कार्यालयको सेवामा असर परेको छ । 

असारको १७ गतेबाट प्रणालीमा समस्या देखियो तर, अहिलेसम्म बनेको छैन् । विभाग भन्छ- सेवा रोकिएको छैन् ।

गत साउन १ गतेबाट नयाँ सवारी चालक अनुमति पत्र पाउन सकिएको छैन।

सवारी लाइसेन्स नवीकरण गर्न वा प्रतिलिपि लिन पनि राजस्व तिर्नुपर्छ र त्यसका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य छ । तर, असार १७ गतेबाटै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सर्भरमा समस्या आएपछि यातायात कार्यालय धाएर गर्ने सम्पूर्ण काम प्रभावित छ।

सामाजिक सुरक्षाअन्तर्गतका सेवा लिन लाभग्राहीको वायोमेट्रिक पहिचान, लाभग्राहीको नवीकरण, नयाँ दर्ता, बैंक खाता सञ्चालनमा पनि समस्या छ । यो समस्या केवल यातायात र सामाजिक सुरक्षा कोषमा मात्र होइन । राहदानी, अध्यागमन, स्वास्थ्य बीमा बोर्ड, बैंक लगायत १३ थरि सरकारी निकायले उपलब्ध गराउने सेवा प्रभावित छ । तर, पञ्जिकरण विभाग भन्छ- सेवा उपलब्ध गराइरहेका छौं, कोही पनि सेवा नलिइ फर्किनु परेको छैन् ।

खास समस्या के हो ?

सरकारले फ्रान्सेली कम्पनी आइडीमीयासँग राष्ट्रिय परिचय पत्रको प्रणाली खरिद गर्यो । खरिद गरिएको प्रणालीमा दुई करोड मानिसको डेटामात्रै भण्डारण गर्न मिल्ने थियो । शुक्रबारसम्म प्रणालीमा २ करोड १ लाख ७० हजार तथ्यांक हालिएको छ। 

यसको अर्थ हो, अब यो प्रणालीको डाटा भण्डारण क्षमता सकियो। परिणामत: राष्ट्रिय परिचय पत्र बनाउन जिल्ला प्रशासन कार्यालय वा विभाग जानेहरुले सबै प्रक्रिया त पूरा गर्छन्, तर विभागले गर्नुपर्ने प्रमाणिकरण चाहिँ हुँदैन । यसको असरस्वरुप राष्ट्रिय परिचयपत्र अनिवार्य हुने सबैजसो कार्यालयको सेवा प्रभावित हुन्छ। समस्या यहि हो।

पञ्जीकरण विभागको सर्भरमा समस्या आउँदा राहदानी विभागसहित अन्य सेवा कार्यालयहरुले विभागलाई पत्र लेखे । जवाफमा विभागले गत साउन सात गते सबै कार्यालयहरुलाई आवश्यक सहयोगको आग्रह गर्दै पत्र फर्कायो । विभागको दाबी छ, सोमबारबाट सबै समस्या समाधान हुन्छ ।

विभागले अहिले थप १ करोड व्यक्तिको डेटा सुरक्षित हुने प्रणाली खरिद प्रक्रिया अघि बढाएको छ । तर, विभागलाई आफ्नो प्रणालीको डाटा भण्डारण क्षमता सकिन लागेकोबारे जानकारी थियो। तर, प्रणाली अपग्रेड गर्न भने कुनै कदम चालेन । जब बन्द हुने स्थिति आयो, अनि तात्यो विभाग । 

विभाग यस्तो बेला तातिरहेको छ, जतिबेला समयमा सेवा नपाएर सेवाग्राहीको मन सेलाइरहेको छ।


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।