
काठमाडौं । बुधबार केही मत्थरजस्तो देखिए पनि सुनसरीको देवानगञ्ज आइतबार रातिदेखि तनावग्रस्त छ।
दुई समूहबीचको झडपले उत्पन्न तनाव नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेका एकजनाको मृत्युपछि त्यसयता पटकपटक झडप र प्रदर्शनहरु भइरहेका छन्। स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले लगातार कर्फ्यु लगाएको छ। तर, कर्फ्यु उल्लंघन गर्दै बेलाबेला प्रदर्शन भइरहेका छन् भने केही झडप पनि भएका छन्।
सरकारले घटनाको छानबिन थालेको छ, जिल्ला प्रशासन र सुरक्षा निकायका जिल्ला प्रमुखहरु फेरेको छ र सेनालाई पनि फिल्डमा खटाएको छ। तर, भीड नियन्त्रणमा सुरक्षा चुक भएको आरोप छ। सरकारले सुनसरी घटनालाई गम्भीर रुपमा नलिएको भन्दै प्रधानमन्त्रीकै समेत आलोचना भएको छ।
दल र नागरिक समाजसहित प्रदेश र स्थानीय सरकारहरूलाई पनि साथ लिनुपर्नेमा प्रधानमन्त्रीले संवेदनशिलता नदेखाएको आरोप छ। दलहरुसँग गर्नुपर्ने सर्वदलीय बैठकसमेत प्रधानमन्त्रीले नगरेर पार्टी सभापतिले गरेकोमा समेत दलहरुले आलोचना गरेका छन् ।
संसद्मा प्रतिनिधित्व गर्ने दलहरुले संयुक्त अपिल जारी गर्नुअघि बसेको सर्वदलीय बैठकमा सुनसरी घटनालाई गम्भीर रुपमा नलिएको भन्दै दलहरुले सरकारको आलोचना गरेका छन् ।आइतबार राति दुई समूहबीच भएको झडप, त्यस क्रममा एकजनाको मृत्यु र केही मानिस गम्भीर घाइते भएको तथा त्यसपछि झडप र तनाव जारी रहेको अवस्थामा सुरक्षा परिचालनमा समेत लापरबाही भएको दलहरुको आरोप थियो।
सर्वदलीय बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको अनुपस्थितिका विषयम समेत दलहरुले प्रश्न उठाएका हुन्। रास्वपा सभापति रवि लामिछानेले सुनसरी घटनाका बारेमा छलफल गर्न भन्दै बुधबार बिहान सिंहदरबारमा बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री शाहको उपस्थिति थिएन।
नेपाली कांग्रेसका सभापति गगन थापाले गम्भीर घटनाका सन्दर्भमा प्रधानमन्त्रीको संवेदनशिलता र सक्रियता नपुगेको आरोप लगाउनुभयो। प्रधानमन्त्रीले नै सबै राजनीतिक दल, प्रदेशका सरकारहरु र स्थानीय तहसँग समन्वय गरी समस्या समाधान गर्नुपर्नेमा त्यसो नभएको भन्दै प्रधानमन्त्रीको आलोचना गर्नुभयो।
सत्तारुढ रास्वपाका सभापतिले दलहरुलाई एकै ठाउँमा ल्याउने प्रयास गरेकोमा भने थापाले प्रशंसा गर्नुभयो। बैठकमा अन्य दलका नेताले पनि प्रधानमन्त्री र गृहमन्त्रीको खोजी गरेपछि सभापति लामिछानेले प्रधानमन्त्री र गृहमन्त्रीले आ-आफ्नो जिम्मेवारी अनुरुप काम गरिरहेको भन्दै बचाउ गर्नुभएको थियो।
एमाले महासचिव शंकर पोखरेलले पनि प्रधानमन्त्रीले सबै दललाई यस्तो छलफल हुनुपर्नेमा त्यसो नभएकोमा असन्तोष व्यक्त गर्नुभयो। पोखरेलले दंगा र भीड नियन्त्रणमा सुरक्षा निकाय असफल भएको भन्दै यसबारे गम्भीर समीक्षा गर्नुपर्ने बताउनुभयो।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गृहमन्त्रीले बैठकमा आएर घटनाका बारेमा दलहरुलाई जानकारी नगराएको भन्दै रोष प्रकट गर्नुभयो। बैठकबाट बाहिरिएका रास्वपा सभापति लामिछानेलाई सञ्चारकर्मीले पनि प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिबारे चासो राख्दै प्रश्न गरेका थिए।
जवाफमा लामिछानेले प्रधानमन्त्री र गृहमन्त्रीले आफ्नो जिम्मेवारी अनुसारको काम गरिरहेको भन्दै बचाउ गर्नुभएको थियो। बुधबार नै बसेको मन्त्रिपरिषद् बैठकमा सुनसरी घटनाका बारेमा के छलफल भयो ? सरकारका प्रवक्ताले यस विषयमा बोल्दै बोल्नुभएन।
त्यसो त प्रधानमन्त्री शाहले मंगलबार राति अबेर सामाजिक सञ्जालमार्फत सामाजिक सञ्जालमार्फत सामाजिक सद्भाव कायम राख्न अपिल गर्दै दोषीलाई कानुनबमोजीम कारबाही गरिने र पीडित परिवारलाई न्याय तथा क्षतिपूर्ति उपलब्ध गराइने प्रतिबद्धता जनाउनुभएको थियो।
उहाँले फेसबुक पोस्टमा लेख्नुभएको छ - 'सरकारको सबैभन्दा पहिलो धर्म आफ्ना नागरिकलाई सुरक्षित बनाएर कसुरदारलाई कारबाही गर्दै पीडितलाई न्याय र क्षतिपूर्ति दिलाउने हो । सरकारले यो सबै काम यथासक्य चाँडो गर्नेछ ।'
तर, घटनाबारे विभिन्न पक्षसँग गर्नुपर्ने छलफल र परामर्शमा प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर कतिपयले प्रश्न गरेका हुन् - के प्रधानमन्त्रीले फेसबुकमा स्ट्याटस लेखेर मात्रै पुग्छ ?