बीपी जयन्तीमै विभाजनको बिउ रोप्ने कांग्रेस असन्तुष्ट नेताहरुको तयारी

भन्छन् : एकताको सम्भावना समाप्त, नयाँ दलका लागि नेतृत्वको खोजी
संवाद जारी रहेको संस्थापनको दाबी
श्रावण ४, २०८३ |प्रकाश बम
बीपी जयन्तीमै विभाजनको बिउ रोप्ने कांग्रेस असन्तुष्ट नेताहरुको तयारी

काठमाडौं । संस्थापक नेता बीपी कोइराला राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएको दिनको सम्झनामा हरेक वर्ष मेलमिलाप दिवस मनाउने नेपाली कांग्रेस आफैं भने मेलमिलाप होइन, फुटतर्फ अघि बढेको छ । 

संस्थापन र असन्तुष्ट समूहले बीपी कोइरालाकै बीपी स्मृति दिवस छुट्टाछुट्टै आयोजना गरेका छन् । विशेष महाधिवेशन अस्वीकार गर्दै आइरहेको असन्तुष्ट समूहले १४औं महाधिवेशन र विशेष महाधिवेशको कार्यसमिति मर्ज गर्नुपर्नेलगायतका पाँच बुँदे प्रस्ताव राखेको छ जसलाई स्वीकार गर्न संस्थापन तयार छैन । 

अब पूर्वसभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला पक्षधरहरुको असन्तुष्ट समूह बीपी स्मृति दिवसका दिन राष्ट्रिय भेला घोषणाको तयारीमा छ । संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले प्रतिपादन गरेको मेलमिलाप, सहकार्य र राष्ट्रिय एकताको सन्देश अझै सान्दर्भिक रहेको बताउने नेपाली कांग्रेसका नेताहरु आफैं भने विभाजनतर्फ अघि बढेका छ्न् । 

संस्थापन र असन्तुष्ट समूहले यही साउन ६ मा पर्ने बीपी स्मृति दिवस नै अलग-अलग रुपमा आयोजना गरेका छन् । एकताको सम्भावना समाप्त भएको निष्कर्ष निकालेको असन्तुष्ट समूहले प्रज्ञा भवनको कार्यक्रममार्फत राष्ट्रिय भेलाको मिति, समय र स्थान सार्वजनिक गर्नेछ । 

यो समूहले १४औं महाधिवेशनको कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई विशेष महाधिवेशनको कार्यसमितिमा मर्ज गराएर केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने, पुनर्गठित केन्द्रीय कार्यसमितिको बैठकले १५औं महाधिवेशनको कार्यतालिका घोषणा गर्ने, पहिल्यै नविकरण भइसकेका क्रियाशील सदस्यलाई १५औं महाधिवेशनमा स्वत: सहभागी हुन पाउने व्यवस्थासहितका पाँच बुँदे प्रस्तावसमेत अघि सारेको छ । 

तर, संस्थापन पक्ष भने दुवै समिति मर्ज गर्न र पहिल्यै नवीकरण भइसकेका क्रियाशील सदस्यलाई पुन: अद्यावधिक गर्नुनपर्ने विषय मान्न तयार छैन । एकता बचाउन नेताहरुले प्रयास भने नगरेका होइनन् । गत जेठ १६ गते उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र एकता कायम गर्न लागि भन्दै असन्तुष्ट पक्षका नेताहरूलाई सात बुँदे प्रस्ताव पठाउनुभएको थियो । 

जसमा निर्वाचन आयोग र सर्वोच्च अदालतले गरेका निर्णय आत्मसात् गर्दै एकताबद्ध भएर अघि बढ्नुपर्ने, शीर्ष नेतामध्ये केहीलाई वरिष्ठ नेताको भूमिकामा र केहीलाई केन्द्रीय समितिमा जिम्मेवारी दिने लगायत प्रस्ताव गरिएको थियो । तर, यसमा सहमत हुन नसकेको असन्तुष्ट समूह संस्थापनले एकता नचाहेको निष्कर्ष निकाल्दै राष्ट्रिय भेलातर्फ अगाडि बढेको हो । राष्ट्रिय भेलामार्फत नयाँ नेतृत्व नै चयन गर्ने यो पक्षको योजना छ ।

संस्थापन पक्षले पूर्णबहादुर खड्का र शेखर कोइरालासहितका केही नेतालाई मात्रै पार्टीमा ल्याउन खोजेको छ । अन्यलाई समेट्न विधानलगायतका कारण देखाइरहेको छ । आफ्ना माग पूरा नहुने निष्कर्ष निकालेको असन्तुष्ट समूह नयाँ पार्टी गठनको तयारीमा जुटेको हो ।

शशांक कोइराला र शेखर कोइरालामध्ये एकजनाको नेतृत्वमा नयाँ पार्टी गठन गर्ने योजना असन्तुष्ट समूहले बनाएको छ । शशांक कोइराला तयार भए पनि शेखर कोइरालाले अन्तिम निर्णय दिइनसकेको नेताहरुले जनाएका छन् ।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।