निर्वाचन परिणामपछि पनि सुध्रिएन कांग्रेस, गुटगत कलहले विभाजनको बाटोमा

असार २१, २०८३ |प्रकाश बम
निर्वाचन परिणामपछि पनि सुध्रिएन कांग्रेस, गुटगत कलहले विभाजनको बाटोमा

काठमाडौं । विशेष महाधिवेशनबाट बनेको केन्द्रीय समिति र विशेषमा भाग नलिएका पक्षबीचको फाटो अहिले कांग्रेसमा निकै बढेको छ । 

कांग्रेसमा यसरी धाँजा फाटेको छ कि अहिले दुई पक्ष आफू आफू महाधिवेशन गर्ने र विवाद विभाजनकै तहसम्म पुग्ने देखिएको छ । विशेष महाधिवेशनको विपक्षमा रहेको समूह त राष्ट्रिय भेलाकै तयारीमा छ ।

नेपाली कांग्रेसको विशेष महाधिवेशनको विपक्षी समूह संस्थापनसँग एकताको सम्भावना अत्यन्तै कम रहेको निष्कर्षमा पुगेको छ । सातै प्रदेशमा भेला गरेको यो समूह अहिले केन्द्रीय भेलाको तयारीमा जुटेको छ । सोमबार सम्पर्क कार्यालय उद्घाटन गर्ने र त्यसपश्चात् विस्तारित बैठक बसेर केन्द्रीय भेलाको तयारी थाल्ने समूहका नेता विमलेन्द्र निधिको भनाइ छ । 

नेता निधिको भनाइमा भेलाले पूर्णबहादुर खड्का, शेखर कोइराला, शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला वा विमलेन्द्र निधिमध्ये एकलाई नेतृत्व चुन्नेछ । त्यसो त दोबाटोमा उभिएको कांग्रेसका दुवै समूहको चाह एउटै छ- १५औँ महाधिवेशन गर्ने । विवाद यति मात्र हो- महाधिवेशनमा कसरी जाने ?

निधिको भनाइमा सम्पर्क कार्यालयको नाम नै १५औँ महाधिवेशन तयारी सम्पर्क कार्यालय राखिएको छ । यसले पनि आफूहरू एकताको पक्षमै रहेको देखिने उहाँको तर्क छ । तर, यो समूहले संस्थापनसँग जुन माग तेर्स्याएको छ, त्यसमा सहमति हुन सकेको छैन ।

१४औँ महाधिवेशनको केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनको केन्द्रीय कार्यसमितिलाई समायोजन गरेर एउटै बनाउनुपर्ने, १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता अद्यावधिक अनिवार्य नगर्ने, निर्वाचन समिति, क्रियाशील छानबिन समिति, अनुशासन समिति, विधान संशोधन समिति आपसी सहमतिमा बनाउने र भ्रातृ र शुभेच्छुक संस्थाहरूको नेतृत्वको जिम्मेवारी सहमतिमा हुनुपर्ने अडानमा यो पक्ष छ । तर, संस्थापन पक्षले तत्काल यी माग पूरा गर्ने छाँटकाँट देखाएको छैन ।

संस्थापन पक्ष असहमत भइरहे इतर पक्ष कसरी अगाडि बढ्छ त ?

यता नेता शेखर कोइरालाले पछिल्ला दिनमा राजनीतिक भेटघाट तीव्र बनाउनुभएको छ । कोइरालाले उपसभापति विश्वप्रकाश शर्मामार्फत पार्टी एकताबारे स्पष्ट निर्णय गर्न असार २५ को समयसीमा नै दिनुभएको छ । तर, कोइराला निकट नेताहरूका अनुसार उपसभापति शर्मासँगको भेटपछि पार्टीभित्रको परिस्थिति थप जटिल बनेको छ । 

संस्थापन पक्ष पार्टी एकताप्रति इच्छुक नदेखिएकाले कोइरालाको नेतृत्वमा नयाँ राजनीतिक दल गठन हुनसक्ने सम्भावना प्रबल बनेको छ । उसो त संस्थापनको तर्फबाट उपसभापति शर्माले पूर्णबहादुर खड्का र शेखर कोइरालालगायत नेताहरूलाई सातबुँदे प्रस्ताव पनि पठाउनुभएको थियो । तर, अनिवार्य रूपमा क्रियाशील सदस्यता अद्यावधिक, विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिमातहत रहने गरी दुवै समूहलाई मिलाएर महाधिवेशन आयोजक समिति बनाउने लगायत प्रस्तावमा देउवा र शेखर समूहले समूहले चित्त बुझाएनन् ।

पछिल्लो समय संस्थापन तर्फबाट गुरुराज घिमिरले नेता खड्का, कोइराला र सिटौलासँग भेटघाट गर्नुभएको थियो । कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म गर्ने निर्णय भएको छ । महाधिवेशनको मिति जति जति नजिकिँदै छ, त्यति त्यति संस्थापन र इतर पक्षबीचको दूरी बढ्दै गएको छ ।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।