फिफा विश्वकप : फाइनलमा स्पेनको प्रतिद्वन्द्वी अर्जेन्टिना कि इंग्ल्यान्ड ?

असार ३१, २०८३ |अभय बस्नेत
फिफा विश्वकप : फाइनलमा स्पेनको प्रतिद्वन्द्वी अर्जेन्टिना कि इंग्ल्यान्ड ?

काठमाडौं । २०२६ विश्वकप अब आफ्नो अन्तिम चरणमा पुगेको छ । 

पहिलो सेमीफाइनलमा फ्रान्सलाई पछि पार्दै स्पेन १६ वर्षपछि फाइनल प्रवेश गरेको छ भने आज राति एटलान्टाको मर्सिडिज- बेन्ज स्टेडियममा स्पेनसँगको भिडन्तका लागि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना र दाबेदार इंग्ल्यान्डबीच सेमिफाइनल हुँदैछ ।

एटलान्टाको मर्सिडिज- बेन्ज स्टेडियममा हुने खेलमा २१ वर्षपछि पहिलो पटक र विश्वकपको नकआउट चरणमा २८ वर्षपछि यी दुई चिरपरिचित प्रतिद्वन्द्वीहरू आमनेसामने हुँदैछन् । यो खेलको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ र टिकटको मूल्य पनि अकासिएको छ ।

इंग्ल्यान्ड र अर्जेन्टिनाको प्रतिद्वन्द्विता फुटबल मैदानमा मात्र सीमित छैन। १९८२ को फकल्यान्ड युद्धको छायाँमा खेलिएको १९८६ को क्वार्टरफाइनल, जहाँ डिएगो म्याराडोनाले 'ह्यान्ड अफ गड' र 'गोल अफ द सेन्चुरी' गरेका थिए, अझै पनि फुटबल इतिहासमा जीवन्त छ । 

त्यस्तै, १९९८ मा डेभिड बेकह्यामको रातो कार्ड र इंग्ल्यान्डको पेनाल्टी सुटआउटमा हारले यो प्रतिद्वन्द्वितालाई थप उचाइमा पुर्‍याएको थियो । आजको खेलमा सबैको नजर दुई स्टार खेलाडीमा हुनेछ । ३९ वर्षका लियोनल मेस्सी र २३ वर्षका जुड बेलिङ्घम । 

मेस्सीका लागि यो खेल विशेष छ, किनकि आफ्नो दुई दशक लामो करियरमा उनले पहिलो पटक इंग्ल्यान्डको राष्ट्रिय टोलीविरुद्ध खेल्दैछन् । मेस्सी प्रतियोगितामा ८ गोलका साथ गोल्डेन बुटको दौडमा अगाडि छन् । अर्कोतर्फ, इंग्ल्यान्डका युवा स्टार जुड बेलिङ्घम र कप्तान ह्यारी केन उत्कृष्ट लयमा छन्। 

दुवैले यस प्रतियोगितामा ६-६ गोल गरिसकेका छन् । बेलिङ्घम लगातार दुई नकआउट खेलमा दुई वा सोभन्दा बढी गोल गर्ने म्याराडोनापछिका पहिलो खेलाडी बनेका छन् । इंग्ल्यान्ड १९६६ पछि पहिलो पटक विश्वकपको उपाधि उचाल्ने लक्ष्यमा छ ।

सेमिफाइनलसम्मको यात्रा दुवै टोलीका लागि सहज थिएन। अर्जेन्टिनाले इजिप्टविरुद्ध पुनरागमन जित निकाल्न र स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा हराउन निकै संघर्ष गर्नुपर्‍यो । यस्तै इंग्ल्यान्डले पनि मेक्सिकोविरुद्ध १० खेलाडीमा सीमित भएर र नर्वेविरुद्ध अतिरिक्त समयमा कडा मिहिनेत गरेर यहाँसम्मको यात्रा तय गरेको हो ।

रणनीतिक रूपमा हेर्दा, अर्जेन्टिना यस प्रतियोगिताकै सबैभन्दा बढी उमेरको टोली हो भने इंग्ल्यान्डमा युवा खेलाडीहरूको उपस्थिति छ । थोमस टुचेलको नेतृत्वमा रहेको इंग्ल्यान्डले अर्जेन्टिनाको 'न्यारो' रक्षापंक्तिलाई पन्छाउन विङ्गरहरू एन्थोनी गोर्डन र बुकायो साकाको प्रयोग गर्ने अपेक्षा छ । 

अर्कोतर्फ, लियोनल स्कालोनीको अर्जेन्टिनाले मिडफिल्डर लिआन्ड्रो पेरेडेसको लय र गोलकिपर एमिलियानो मार्टिनेजको लामो पासमा भर पर्नेछ । ऐतिहासिक पृष्ठभूमि, राजनीतिक तनावको इतिहास र मैदानभित्रको फुटबलजस्ता सबै तत्वले आजको खेललाई 'ग्रेटेस्ट अफ अल टाइम' बनाउने निश्चित छ। 

कुन टोलीले फाइनलमा स्पेनको सामना गर्नेछ, त्यो भने केही घण्टापछिको खेलले नै तय गर्नेछ । के मेस्सीले अर्जेन्टिनालाई लगातार दोस्रो फाइनलमा पुर्‍याउलान् वा इंग्ल्यान्डको युवा टोलीले ६० वर्षको ट्रफी खडेरी तोड्ने दिशामा अघि बढ्ला ? 


Image

अभय बस्नेत

बस्नेत कान्तिपुर टेलिभिजनको स्पोर्ट्स ब्युरोमा कार्यरत छन् ।