अस्तित्व जोगाउन कार्यगत एकतादेखि पार्टी एकीकरणको प्रयासमा वामपन्थी दल

असार २१, २०८३ |विकास आचार्य
अस्तित्व जोगाउन कार्यगत एकतादेखि पार्टी एकीकरणको प्रयासमा वामपन्थी दल

काठमाडौं । कहिले एक, कहिले अनेक । कुनै बेला एकै पार्टीमा रहे, तर, सत्ता र शक्तिको उन्मादले छिन्नभिन्न भए । 

जब निर्वाचनपछि जनताबाट किनारा लागिसकेको स्पष्ट देखे, आफूहरुबीचको दूरी बल्ल पत्ता लगाए । यही कारण अहिले नेकपा एमाले र नेकपाका नेताहरू नजिकिने प्रयासमा छन् । त्यसैका लागि पटक पटक औपचारिक तथा अनौपचारिक छलफल गरेका शीर्ष नेताहरू कार्यगत एकता गरेर अघि बढ्नेमा सहमत भइसकेका छन् र एकीकरणसम्म पुग्ने लक्ष्य छ । 

नेताहरू मिल्न हतारो गरिरहेका छन् । तर, राजनीतिक मामिलाका जानकार भन्छन् – अब कम्युनिष्ट पार्टीहरू राजनीतिको केन्द्रमा आउन गाह्रो छ । फागुन २१ को निर्वाचनमा वाम घटकहरूलाई मतदाताले कमजोर मात्रै पारिदिएनन्, संघीय राज्यशक्तिमा कतै पनि निर्णय गर्नै नसक्ने तहमा पुर्‍याइदिए । 

विश्लेषकहरू भनिरहेका छन्- अब कम्युनिष्टहरू फेरि राजनीतिको केन्द्रमा आउन असम्भवप्राय: छ । जनताबाट अस्वीकृत भएको र संकटमा परेको अनुभूतिपछि कम्युनिष्ट घटकहरू एक ठाउँमा आउने प्रयास गरिरहेका छन् । गत आइतबार मदन भण्डारीको ७५ औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा चार कम्युनिष्ट नेताहरू भन्दै थिए - तत्काल कार्यगत एकता नगरे लोकतन्त्र नै संकटमा पर्ने जोखिम छ। 

नेताहरूमा हतासा देखेरै सायद त्यही मञ्चबाट पूर्वराष्ट्रपति एवं एमाले नेतृ विद्यादेवी भण्डारीले एउटै निर्वाचनको नतिजाबाट कम्युनिष्ट सकिएको निष्कर्षमा पुग्न नहुने भन्दै ढाडस दिनुभयो । निर्वाचनपछि जनमतमा मात्र कम्युनिष्ट दलहरू खुम्चिएका होइनन्। 

बरु नयाँ सरकारले जेन-जी आन्दोलनका घटनाका दोषी भन्दै वा सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि भन्दै कारबाही चलाउँदा पनि यिनै दलका नेताहरू परिरहेका छन्। एमाले अध्यक्ष केपी ओलीलाई नयाँ सरकार गठनलगत्तै भदौ २३-२४ का घटनाको दोषीका रूपमा हिरासतमा लिएर कारबाही थालियो । 

सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि उपाध्यक्ष विष्णु पौडेल पनि हाल न्यायिक हिरासतमा हुनुहुन्छ । नेकपा संयोजक पुष्पकमल दाहालसहितका नेताहरूको पनि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान जारी छ । सम्भवत: अब एकै ठाउँमा नउभिए झनै कमजोर भइने भय कम्युनिष्ट दलहरूमा स्पष्ट देखिने विश्लेषकहरूको भनाइ छ ।

हाल नेकपा एमाले र नेकपाबीच कार्यगत एकताको विषयमा घनिभूत छलफल चलिरहेको छ । नेताहरू सुरुमा कार्यगत एकता र त्यसपछि पार्टी एकता हुँदै बृहत्तर एकताको छलफल भैरहेको जिकिर गर्छन् । एमाले र नेकपाबीचको सम्भावित कार्यगत एकतालाई लिएर ओली र दाहालबीच गत जेठको दोस्रो साता भेट भएको थियो ।

त्यसपछि पनि र हालै मदन भण्डारीको जन्मजयन्ती पनि एकै मञ्चबाट सम्बोधन गरेपछि पनि पटक पटक फोनमा सम्पर्क भइरहेको दुवै दलका नेताहरूको दाबी छ । भेट र फोन सम्पर्कमा ओली र दाहालबीच सुरुमा कार्यगत एकता र सँगसँगै पार्टी एकीकरण गर्दै लानेबारे छलफल हुने गरेको ओलीनिकट स्रोतको दाबी छ । 

ओली र दाहालबीच आफूपछि एकीकृत कम्युनिष्ट पार्टीको नेतृत्व विद्या भण्डारीलाई सुम्पिनेसम्मको छलफल भएको स्रोतको दाबी छ । तर, यी सबै छलफल र सम्भावित रणनीतिबारे एमाले र नेकपाका दोस्रो र तेस्रो तहका नेताहरू अनभिज्ञ रहेको पाइयो । 

दुवै दलका दोस्रो तेस्रो तहका नेताहरू सुरुमा पार्टी पुनर्गठन र त्यसपछि मात्रै कार्यगत एकता वा पार्टी एकता सम्बन्धमा छलफल गर्नुपर्ने मत राख्छन् । नेकपामै दोस्रो र तेस्रो वरीयतामा रहेका नेतामध्ये माधव नेपाल तत्काल पार्टी एकता नभएर कार्यगत एकतासम्ममात्र गर्न सकिने धारमा रहेको बुझिएको छ । 

अर्का नेता झलनाथ खनाल भने पार्टी एकतै गरेर जानुपर्ने मत राख्न थाल्नुभएको छ । हाल दुवै पार्टीलाई मिलाउन भूमिका खेलिरहनुभएकी भण्डारीलाई भने दुवै दलका शीर्ष नेताले आगामी नेतृत्वको रूपमा हेरेका छन् । हाललाई कार्यगत एकता र आउने स्थानीय र प्रदेश निर्वाचनमा गठबन्धनसम्मको उद्देश्य रहेको उनीहरूको दाबी छ । 

तर, नेतृत्व र कार्यशैली उस्तै राखेर फेरि एक ठाउँमा आउँदैमा उनीहरूले नागरिकको विश्वास जित्न सक्छन् ? विश्लेषक भन्छन् – असम्भव होइन तर निकै कठिन छ ।


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।