
दाङ । दाङको सिँचाइ सुविधा पुगेका स्थानमा धान रोपाइँ लगभग सकिएको छ ।
समयमै पानी नपरेका कारण धेरै किसानले समयमै ब्याड राख्न पाएनन् भने रोपाइँ पनि ढिला भयो । अहिलेसम्म दाङमा ४० प्रतिशत रोपाइँ भइसकेको छ । तर, दाङको वंगलाचुली गाउँपालिका ८ का किसानलाई भने चैतमा लगाएको धान भित्राउन र वर्षे धान लगाउनलाई चटारो छ ।
दाङको वंगलाचुली ८ खैरेनी, स्वामीघाटका किसानलाई अहिले चैतमा लगाएको धान भित्राउन भ्याइनभ्याइ छ । कोही खेतमा धान काट्दैछन् भने कोही खेतका छेउमै रहेको टौवामा टाँगिएको त्रिपालमुनी धान चुटिरहेका भेटिन्छन् । वर्षाको समय, मौसमले त्यति साथ नदिए पनि यहाँका किसानलाई चैतमा लागाएको धान भित्राउन चटारो छ ।
असोज कार्तिकमा गहुँवाली लगाएका यहाँका किसान चैतमा धान लगाउँछन् । चैतमा लगाएर पाकेको धान असार साउनमा भित्र्याउछन् र पुनः साउनमै वर्षे धान लगाउँछन् । अन्यत्र धान लगाउने समयमा यहाँका किसान कतै खेतमा पहेँलपुर भएर पाकेको धान काटिरहेका छन् भने धान काटेर सकेकाहरु नयाँ धान लगाउन खेत तयार गर्दैछन् ।
गाँउघरमा खेताला नपाउने भएपछि किसानहरु अर्मपर्मो गर्दै काम गरिरहेका छन् । बाँझो जमिनको उपयोगिता, खाद्यान्न उत्पादन वृद्धि र रोजगार सिर्जनाका लागि लुम्बिनीका १२ मध्ये रोल्पा र रूकुमबाहेक १० जिल्लामा चैते धानको खेती हुने गरेको छ ।
प्रदेशको भूमि व्यवस्था तथा कृषि मन्त्रालयको आर्थिक वर्ष २०८१/०८२ को तथ्याङकअनुसार प्रदेशभर १ हजार ६०५ हेक्टरमा चैते धानको खेती हुने गरेको छ भने ७ हजार ५१६ मेट्रिक टन धान उत्पादन हुने गरेको छ । सबैभन्दा धेरै बर्दियामा ६७९ हेक्टरमा चैते धानको खेती हुने गरेको छ भने सबैधन्दा कम पश्चिम नवलपरासीमा ७ हेक्टरमा चैते धानको खेती हुने गरेको छ ।
सरकारले सिँचाइ विस्तार, उन्नत बीउ उपलब्धता र प्रविधि प्रयोगमा जोड दिए चैते धान खेती अझ प्रभावकारी बन्ने अपेक्षा गरिएको छ । किसानलक्षित अनुदान र प्राविधिक सहयोगमार्फत चैते धान प्रवर्द्धन गर्नुपर्ने आवश्यकता सरोकारवालाले औंल्याएका छन् ।