
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राखेको प्रशिक्षण कार्यक्रममा सांसदहरूको उपस्थिति न्यून देखिएको छ । रास्वपाका १ सय ८२ जना सांसदमध्ये थोरै सांसद मात्र उपस्थित भएपछि संसदीय दलका उपनेता गणेश पराजुलीले सार्वजानिक रूपमा नै असन्तुष्टि जनाउनुभएको छ ।
प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले सांसदहरूले प्रशिक्षण कार्यक्रमलाई कम महत्त्व दिएको बताउनुभयो । उहाँले प्रशिक्षणमा अपेक्षित उपस्थिति नदेखिनुले संसदीय भूमिकाबाट विमुख हुने संकेत रहेको बताउनुभयो । पराजुलीले यसको पार्टी र संसदीय दलले मूल्यांकन गर्ने चेतावनीसमेत दिनुभयो । “हामीले आयोजना गरेको यो कार्यक्रम ११ बजेबाट सुरु गर्ने तय गरिएको थियो । संसदीय दलमा निरन्तर सूचना प्रवाह भएको थियो तर मैले सबै सांसदहरू यहाँ उपस्थित भएको देखेको छैन,” उहाँले भन्नुभयो, ”संसदीय दलको उपनेताको हैसियतमा म यहाँहरूलाई केही अनुरोध गर्न चाहन्छु, पार्टीले विशेषगरी संसदीय दलमा उपस्थित हुनुभएका सबै सांसदहरूको क्षमता विकासका लागि आयोजना गरेका यस्ता कार्यक्रमलाई कम महत्त्व दिइनु र त्यसपछि आफ्ना अन्य कामलाई प्राथमिकतामा राखिनु भनेको संसदीय भूमिकाबाट विमुख हुने प्रयास गर्नु हो । पार्टी र संसदीय दलको तर्फबाट यी कुरालाई मूल्यांकन गरिनेछ ।”
उहाँले प्रशिक्षणको अन्तिमसम्म सहभागी भई यसको प्रभावकारिता मूल्यांकन गर्न र कमजोरी सुधारका सुझाव दिन पनि सांसदहरूलाई आग्रह गर्नुभयो । प्रशिक्षण कार्यक्रम केवल सुरुआत मात्र भएको र आगामी दिनमा थप विषय समेटेर नियमित प्रशिक्षण सत्र सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । उहाँले आगामी अधिवेशन र बजेटको व्यस्ततालाई ध्यानमा राख्दै केही सत्रहरू स्थगित गरिएको बताउनुभयो ।