
काठमाडौँ । संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा मनोजकुमार शर्मालाई सिफारिस गरेको छ । सिंहदरबारमा बिहीबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले भने लिखित असहमति राख्नुभएको छ ।
परम्परा र वरीयताअनुसार नभएको भन्दै असहमति रहने र हस्ताक्षर नगर्ने उहाँहरूको भनाइ थियो । प्रधानन्यायाधीशमा सिफारिस शर्मा न्याय परिषद्ले पठाएको सूचीको चौथो नम्बरमा हुनुहुन्थ्यो । पहिलोमा कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल, दोस्रोमा कुमार रेग्मी र तेस्रोमा हरि फुयाँल रहनुभएको थियो ।
प्रकाशमानसिंह राउत सेवानिवृत्त भएपछि सर्वोच्च अदालत नेतृत्वविहीन छ । वरिष्ठतम न्यायाधीश मल्लले हाल कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालिरहनुभएको छ ।