लिपुलेकसहितको भूमि फिर्ताका लागि कूटनीतिक पहल गर्न प्रतिपक्षी सांसदहरूको माग

वैशाख २४, २०८३ |न्युज एजेन्सी नेपाल
लिपुलेकसहितको भूमि फिर्ताका लागि कूटनीतिक पहल गर्न प्रतिपक्षी सांसदहरूको माग

काठमाडौँ । नेपाली कांग्रेससहितका प्रतिपक्ष दलहरूले लिपुलेक लगायतका नेपाली भूमि फिर्ता लिनका लागि सरकारले पर्याप्त कूटनीतिक पहल गर्न सरकारलाई दबाब दिएका छन् । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै नेताहरूले भारत–चीन दुई छिमेकी मुलुकले नेपाली भूमि लिपुलेकलाई व्यापारिक नाकाको रूपमा प्रयोग गर्ने कार्य आपत्तिजनक भएको बताएका हुन् ।

कांग्रेसका सांसद सन्दीप राना, नेकपा (एमाले)की सांसद भूमिका लिम्बू सुब्बा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद प्रमेशकुमार हमालले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि भएकाले सरकारले त्यसलाई फिर्ता ल्याउनका लागि कूटनीतिक पहलकदमीमा पर्याप्त ध्यान दिनुपर्ने बताउनुभएको हो ।

कांग्रेस सांसद रानाले सरकारले दुवै मुलुकसँग बसेर प्रत्यक्ष वार्ता गर्ने कुरामा ढिलाइ गर्न नहुने बताउनुभयो । उहाँले नेपालले उक्त क्षेत्रको बारेमा भारत र चीनसँग छलफल गर्दा पर्यटन प्रवर्द्धन गर्ने विषयलाई पनि महत्त्वका साथ अघि बढाउनुपर्ने बताउनुभयो ।

सांसद रानाले भन्नुभयो, “हाम्रा पौराणिक मान्यताहरूलाई पनि यसमा अघि बढाउनुपर्नेछ । कैलाश दर्शन गर्ने कुरा छ । त्यसमा ५ वटा कैलाश दर्शन गर्ने कुरा छ । त्यसमध्ये ४ वटा कैलाश नेपालमा छ । त्यसको पनि प्रचार गरेर हामीले कूटनीतिक पहल गर्नुपर्दछ । जसले नेपालको पर्यटन प्रवर्द्धनमा पनि महत्त्वपूर्ण भूमिका खेल्छ ।”

एमाले सांसद लिम्बूले यो विषयमा सरकारले नोट पठाउँदा पनि भारतको विदेश मन्त्रालय गैरजिम्मेवार देखिएको बताउनुभयो । “यसमा हामीले एकीकृत एउटा राष्ट्रिय धारणा बनाएर जानुपर्छ जस्तो लाग्छ मलाई । यसको संयोजन यो समितिले गर्नुपर्दछ भन्ने मलाई लाग्दछ । हामीले हाम्रो विदेश नीतिलाई सन्तुलित ढंगले सार्क राष्ट्रहरूलाई पनि त्यहीअनुसार लिएर जानुपर्दछ,” उहाँले भन्नुभयो ।

यता नेकपाका हमालले अघिल्ला सरकारहरूले पनि सीमाको सम्बन्धमा बेलाबेलामा कुराहरू अगाडि बढाएको बताउँदै बहुमतप्राप्त स्थितिलाई सदुपयोग गरेर बाँकी राजनीतिक शक्तिहरूको पनि सहमति लिएर पर्याप्त कूटनीतिक प्रयास गर्न जरुरी भएको बताउनुभयो ।


Image

न्युज एजेन्सी नेपाल

कान्तिपुर टेलिभिजन न्युज एजेन्सी नेपालको आधिकारिक ग्राहक हो ।