
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौं उपत्यकाका नदीकिनारमा बसोबास गर्दै आएका सुकुम्वासी समुदायलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी भइरहेको बताउनुभएको छ । वर्षौंदेखि दोहोरिँदै आएको बाढीको जोखिम र मानवीय संकटलाई ध्यानमा राख्दै अब स्थायी समाधानतर्फ सरकार अघि बढ्न लागेको उहाँको भनाइ छ ।
हरेक वर्ष बाढीका कारण नदीकिनारका हजारौं मानिसले ज्यान जोगाउन घर–सामान छाडेर भाग्नुपर्ने अवस्था दोहोरिँदै आएको उल्लेख गर्दै उहाँले यस्तो जोखिमपूर्ण बसोबासलाई निरन्तरता दिनु उचित नहुने बताउनुभयो । 'अब पनि कुनै ठूलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी ? उहाँहरूको जीवनसँग खेलबाड गर्दै त्यही हालमा छोडेर अधिकार र भोटको राजनीति यसरी नै सधैँ गरिरहने ?' उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।
थापाथली, गैरीगाउँ, मनोहरा लगायत क्षेत्रमा रहेका जोखिमपूर्ण बस्तीहरूलाई बल प्रयोग नगरी मानवीय ढंगले स्थानान्तरण गरिने प्रधानमन्त्री शाहको भनाइ छ । यसले बाढीबाट हुने मानवीय क्षति न्यूनीकरण गर्ने र काठमाडौँको ढल निकास प्रणाली सुधारमा पनि सहयोग पुग्ने उहाँले बताउनुभयो ।
उहाँले सुकुम्बासी व्यवस्थापन सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याएर नीति अनुसार व्यवस्थापन गरिने बताउनुभयो। देशभरका वास्तविक सुकुम्बासीलाई प्रक्रिया पूरा गरी यथाशीघ्र जग्गा वितरण गर्ने प्रतिबद्धता पनि उहाँले दोहोर्याउनुभएको छ ।