
विराटनगर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले कानुन मिचेर मनलाग्दी गर्न थालेको बताउनु भएको छ।
विराटनगर विमानस्थलमा बुधबार पत्रकारहरुसँग कुराकानी गर्दै थापाले सरकारले आफ्ना मनमा लागेका कुराहरु कानुन मिचेर गरेको आरोप लगाउँदै सरकारलाई जिम्मेवारी पूर्वक सतर्क गराएको स्पष्ट रुपमा बताउनु भयो।
सरकारले सुन्छ भन्ने विश्वास राखेको यदि सुनेन भने कसरी सुनाउनु पर्छ भन्ने पनि आफूहरुलाई थाहा भएको उहाँको भनाइ थियो। सरकारले संविधान कार्यान्वयन, विधिको शासन, प्रजातन्त्रको आधारभूत कुराहरु र जनहितका विषयमा सरकार चुक्छ भने त्यहाँ नेपाली कांग्रेस दह्रो भएर उभिने प्रष्ट पार्नुभयो।
भर्खरै नेपाली कांग्रेसको केन्द्रीय समितिको निर्णयबाट सरकारका केही विषयमा गम्भीर ध्यानाकर्षण गराएको पनि उहाँले प्रष्ट पार्नुभयो। भदौ २४ को घटनाको बारेमा सरकारलाई तुरुन्त न्यायिक छानबिन आयोग बनाउन माग गरिएको उहाँले बताउनु भयो।
विधिको शासन स्थापना गर्न राज्यलाई प्रत्येक नेपाली नागरिकको अनुसन्धान गर्ने अधिकार रहेको बताउँदै त्यसलाई कांग्रेसले सम्मान गर्ने बताउनु भयो। तर, राज्यका निकायहरुले पनि कानुनको पालना गर्नुपर्यो ,छाडा हुनु भएन र छाडा भए प्रजातन्त्र कमजोर बन्ने पनि उहाले स्पष्ट पार्नुभयो।
त्यस्तै सभापति थापाले नेपाली कांग्रेसलाई बलियो, सुदृढ बनाउन पार्टी भित्र एकताको पहल गरेर १५औं महाधिवेशनमा लैजान सबै नेताहरुसँग छलफल र संवाद भइरहेको बताउनुभयो। संविधान कार्यान्वयन, सुशासन जनतासँग जोडिएका राम्रा विषयमा सरकारलाई साथ दिने भन्दै आफूहरुले तथ्यका आधारमा प्रश्न उठाउने र कतिपय कुराहरुमा विकल्पसहित सुझाव दिने पनि उहाँले स्पष्ट पार्नुभयो।