गृहमन्त्री गुरुङकाे लगानीबारे रास्वपा मौन

वैशाख ७, २०८३ |कान्तिपुर टीभी संवाददाता
गृहमन्त्री गुरुङकाे लगानीबारे रास्वपा मौन

काठमाडौं । विवादित व्यवसायी दीपक भट्टको कम्पनीमा गृहमन्त्री सुधन गुरुङको लगानीबारे प्रश्न उठ्नुका साथै राजीनामाको दबाब बढे पनि रास्वपा भने यस विषयमा मौन देखिएको छ ।

रास्वपा केन्द्रीय कार्यसमिति बैठकले आज प्रधानमन्त्री वालेन्द्र शाह निकट भूपदेव शाहलाई महामन्त्री चयन गर्ने, लेबी रकम परिमार्जन गर्नेलगायत विभिन्न निर्णयहरू गरे पनि गृहमन्त्रीको विवादबारे न त कसैले प्रश्न उठाए, न त यसबारे पार्टी नै बोल्यो । 

बैठक कक्षमा जादै गरेका र फर्किँदै गरेका पार्टी पदाधिकारी, मन्त्री तथा केन्द्रीय सदस्यले यो विषयमा प्रतिक्रिया दिन चाहेनन् । करिब ३ घण्टा चलेको बैठकमा समेत कसैले पनि यो विषय नउठाएको केन्द्रीय सदस्यहरुले बताएका छन । प्रवक्ता मनिष झाले गृहमन्त्री गुरुङको विषयमा बैठकमा कुनै छलफल नभएको बताउनु भयो ।

प्रवक्ता झाले समेत गृहमन्त्रीका विषयमा व्यक्तिगत रूपमा आफूले कुनै टिप्पणी नगर्ने बताउनुभएको थियो । बरु उहाँले जति ठूलो पार्टी भयो त्यति सचेत हुनुपर्ने अवस्था रहेको टिप्पणी गर्नुभयो । केन्द्रीय समिति बैठकले सचिवालय विस्तार गर्दै २ जना सदस्य थप गरेको छ । 

प्रधानमन्त्री शाह निकट भूपदेव शाहलाइ महामन्त्रीमा मनोनित गरिएको छ भने सागर ढकाल र सरिताश्री ज्ञवालीलाई सचिवालयमा राखिएको छैन । सचिवालय भनेर सार्वजनिक सूचीमा रास्वपा वरिष्ठ नेतासमेत रहनुभएका प्रधानमन्त्री शाहको नाम समावेश छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.