
काठमाडौं । सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएसँगै आगामी रणनीति तय गर्न भन्दै बसेको पूर्वसभापति शेरबहादुर देउवा पक्षको भेलाले पार्टी एकताका लागि संस्थापन पक्ष जिम्मेवार हुने ठहर गरेको छ ।
आइतबार धुम्बाराहीमा देउवा पक्षका पूर्वकेन्द्रीय सदस्यहरूको बैठकले पार्टीभित्रको कानुनी लडाइँ समाप्त भएकाले सम्मानजनक सहभागितासहित एकताका लागि संस्थापन पक्ष जिम्मेवार हुनुपर्ने निष्कर्ष निकालेको हो । जसका लागि सभापति गगन थापा जिम्मेवार हुनुपर्ने देउवा पक्षको धारणा छ ।
यद्यपि छलफलमा सहभागी कतिपय नेताहरूले भने संस्थापन पक्षले एकलौटी पेल्न सक्ने र पार्टीभित्र सम्मानजनक अवस्था नभए नयाँ पार्टी गठन गर्नुपर्नेसम्मका विषयमा धारणा राखे । बेग्लै पार्टी बनाएर पछि एकता गर्दा सम्मानजनक सहभागिता हुनसक्ने धारणा बैठकमा आएको सहभागी नेताहरूले बताएका छन् । तर, कतिपय नेताहरूले भने सके पार्टीमै रहेर राजनीतिक लडाइँ लड्नुपर्ने र नसके चुपचाप बस्नुपर्ने धारणा राखेका थिए ।
बैठकमा विगतका कमजोरीदेखि सभापति थापाको हस्ताक्षर भएको टिकट लिएर चुनावमा गएको जस्ता विषयमा समेत छलफल भएको थियो । छलफलमा पूर्णबहादुर खड्कासहित विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहलगायत ४० जना नेता कार्यकर्ताको सहभागिता थियो ।