
काठमाडौँ । वित्तीय अनुशासनको नभएको भन्दै क्यानका बोर्ड सदस्यहरूको निवेदनपछि राखेपले जाँचबुझका लागि कागजात मगाएको छ । योसँगै आरोप-प्रत्यारोप र विवादको शृंखला अनुसन्धान र निरूपणतर्फ अघि बढेको छ । यद्यपि सक्रिय, चर्चित र देशको गरिमा राखिरहेको खेल संघ विवादमा पर्नुले समग्र खेलप्रेमीलाई निराश बनाएको छ । त्यसमाथि क्यान १० महिनादेखि नवीकरण नगरी सञ्चालन भइरहेको तथ्य बाहिरिएपछि विवाद थप चर्किएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)का बोर्ड सदस्यहरूको निवेदनपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जाँचबुझ सुरु गरेको छ । राखेपका खेलकुद विकास विभाग प्रमुख सरोज पोखरेलका अनुसार शुक्रबार ७ दिनको म्याद दिएर क्यानसँग लेखापरीक्षणलगायतका कागजात मागिएको छ । राखेप सदस्यसचिव रामचरित्र मेहताले पनि पछिल्लो विवादमा आफूहरूले जाँचबुझ थालेको बताएका छन् ।
क्यानमा वित्तीय अनुशासन नदेखिएको भन्दै नौ जना बोर्ड सदस्यहरूले गत सोमबार राखेपमा निवेदन दिएका थिए ।
उपाध्यक्ष सिंह क्यानले बोर्ड सदस्यलाई नै नवीकरणका लागि वार्षिक प्रतिवेदन, लेखापरीक्षण, भावी योजना र राष्ट्रियस्तरको प्रतियोगिता सम्पन्न गरेको विवरण उपलब्ध नगराएपछि निवेदन दिएको बताउँछन् । अरू अनिवार्य प्रक्रियाहरू पनि समयमा र विधिसम्मत् नभएको सिंहको आरोप छ ।
तर कान्तिपुरसँगको कुराकानीमा क्यान सचिव पारस खड्का भने आवश्यक सबै कागजात क्यानको मूलपानीस्थित मुख्यालयमै रहेको भन्दै संघ र पदाधिकारीहरू पारदर्शी भएको तर्क गरेका छन् ।
तर क्यानसम्बन्धित विवाद वित्तीय अनुशासनको मात्र होइन । बोर्ड सदस्यहरूकै निवेदनपछि उजागर भएको अर्को तथ्य हो- खेल संघका रूपमा क्यानको नवीकरण नहुनु ।
राष्ट्रिय खेलकुद विकास ऐन र नियमावलीअनुसार प्रत्येक खेल संघले हरेक वर्ष म्याद सकिनुभन्दा कम्तीमा १५ दिनअघि आवश्यक कागजातसहित नवीकरणका लागि निवेदन दिनुपर्छ । तर, क्यानले यो कानुनी प्रक्रिया पालना गरेको छैन । अरू त अरू क्यानले नवीकरणबिनै आईसीसी पुरुष टी–२० विश्वकपसहित अन्य थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको पाइएको छ । साथै प्रधानमन्त्री कपसहितका विभिन्न राष्ट्रिय प्रतियोगिताहरू पनि यहीबीच सम्पन्न भएका छन् ।
पछिल्लोपटक २०८१ असोजमा साधारणसभा गरेको क्यान २०८१ पुस ९ गतेसम्मका लागि मात्रै नवीकरण भएको थियो । यो असफलताका लागि क्यानले जेन-जी आन्दोलन, लेखापरीक्षण तथा गत फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनलगायतका कारण देखाएको छ । यद्यपि खेल संघ र पदाधिकारीकेन्द्रित विवादहरू बढ्न थालेपछि गत चैत दोस्रो साताको बोर्ड बैठकबाट क्यानले साधारणसभा गर्ने निर्णय गरेको थियो । निर्णयअनुसार भोलि र पर्सि अर्थात् वैशाख २७ र २८ गते विराटनगरमा साधारणसभा हुने भएको छ ।
आन्तरिक विवाद र राजनीतिक हस्तक्षेपका कारण यसअघि आईसीसीको निलम्बनमा परिसकेको क्यान फेरि कलहमा फस्नुले यो खेलको गरिमामै आघात पुर्याइरहेको छ । सफलताको सानदार उडान भरिरहेको क्यानले यो विवाद जतिसक्दो छिटो समाधान गर्नुपर्छ ।