काठमाडौं । फिफा विश्वकप २०२६ मा पहिलो छनोट भएको कुरासाओ धेरै विशेषताले भरिएको छ ।
साढे एक लाख जनसंख्या भएको यो देश कसरी विश्वकै सबैभन्दा ठूलो खेल प्रतिस्पर्धामा छनोट भयो भन्ने कथा आफैंमा रोचक र प्रेरणादायी छ । ला ओला अजुल अर्थात् निलो छाल । यो कुरासाओ राष्ट्रिय फुटबल टिमको उपनाम हो ।
विश्वकप विशेष शृंखलामा आज हामी त्यही कुरासाओ फुटबलको चर्चा गर्नेछौं ।
गुगल म्याप्समा हेर्दा एउटा सानो टापुजस्तो देखिने यो भूगोल कुरासाओ नामक सिंगो देश नै हो । नेपालभन्दा तीन सय ३० गुणा सानो यो देश पहिलो पटक फिफा विश्वकपमा छनोट भएको छ । करिब डेढ लाख आवादी रहेको कुरासाओ दक्षिण अमेरिकाको शीरमा अवस्थित मुलुक हो ।
अधिकांशले नामै नसुनेको यो देशको नामाकरण भएको समेत धेरै भएको छैन । जो, अब ३७ दिनपछि अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने फिफा विश्वकप २०२६ खेल्न तयार छ । दक्षिण अमेरिका नजिक रही क्यारेबियन सागरमा रहेको कुरासाओ फिफा विश्व वरीयताको ८२औं स्थानमा छ ।
उसले, उत्तर अमेरिकी फुटबलमा हिस्सा लिने गरेको छ । विश्वकपको उत्तर अमेरिकी छनोटमा कुरासाओले बर्मुडालाई पहिलो लगेमा तीन दुई र दोस्रो लेगमा ७-० को फराकिलो अन्तले हराएको थियो । ट्रिनिडाड एन्ड टोबागोसँग दुवै खेल बराबरी गर्नु समूहमा उसको अर्को प्रभावशाली प्रदर्शन रह्याे ।
जमैकासँग पहिलो लेगमा २-० को उत्कृष्ट जित हात पारेको कुरासाओले अन्तिम खेलमा जमैकासँगै गोलरहित बराबरी खेल्दै समूह बीको विजेताका रूपमा आफूलाई विश्व मञ्चमा पुर्याउन सफल भयो । विश्वकपमा सहभागी बन्ने पक्का भएसँगै कुरासाओको यो पुस्ता फुटबलको गोल्डन जेनेरेसन बनेको छ ।
डिर्क एड्भोक्याटको नेतृत्वमा रहेको यो टोलीले छनोटका १० खेलमा २८ गोल गरेको थियो । तर, विश्वकप यात्राको जस पूर्वप्रशिक्षक रोम्को बिसेन्टिनीलाई पनि जान्छ । करिब १० वर्ष कुरासाओ टिमभित्र रहेका बेसेन्टिनीले नै अहिलेको टिमका धेरै खेलाडीलाई डेब्यू दिएका थिए ।
विश्वकप छनोटमा फर्ममा देखिएका राङ्गेला जाङ्गा टोलीका प्रमुख हतियार हुन् । अनुभवी गोलकिपर एलोय रुम र डिफेन्सका कुको मार्टिनाको डुओले रक्षात्मक जिम्मेवारी कुशलतापूर्वक पूरा गरिरहेका छन् । डच भाषाको प्रभूत्व रहे पनि क्यारेबियन मुलका यी खेलाडी नेदलरल्यान्ड्समा आधारित छन् ।
सन् २०१४ मा पहिलो पटक ब्राजिल विश्वकपको छनोट खेलेको कुरासाओले सन् २०१५ मा मात्रै विश्वकप छनोटमा पहिलो जित निकालेको थियो । सन् २०१९ कन्काकफ गोल्डकपमा छनोट र क्वार्टरफाइनलसम्मको यात्रा, कतार विश्वकपको छनोटमा अन्तिम चरणसम्म पुग्नुले यो टोली विश्वकप नजिक रहेको संकेत दिइसकेको थियो ।
तर, यसपटक, अमेरिका, क्यानडा र मेक्सिको छनोट प्रक्रियामा नरहेपछि कारासोआलाई विश्वकपमा पुग्न थप सहज भएको थियो । विश्वकपमा छनोट गराएका प्रशिक्षक एड्भोक्याट छोरीको स्वास्थ्य अवस्थाका कारण टिमबाट बाहिरिएपछि अब टिमलाई फ्रेड रुटेनले सम्हालेन्छन् ।
रुटेनको रणनीतिमा कुरासाओले समूह 'इ' मा पहिलो खेल जुन १४ मा जर्मनीसँग, जुन २१ मा इक्वेडरसँग र जुन २६ मा कोट डिभोरसँग खेल्नेछ ।