बस्तीसँगै विद्यालय पनि भत्किएपछि विद्यार्थी तितरबितर

दुई विद्यालय स्थानान्तरण, होल्डिङ सेन्टरका बालबालिका पनि पुग्ने थाले स्कुल
नगरपालिकाले निर्णय नगर्दा मनोहराका विद्यार्थी अन्योलमा
वैशाख २२, २०८३ |नारायण किलम्बू
बस्तीसँगै विद्यालय पनि भत्किएपछि विद्यार्थी तितरबितर

काठमाडौं । काठमाडौंका नदीकिनाराका अनधिकृत बस्ती हटाएसँगै भत्काइएका दुई विद्यालयलाई नजिकैका विद्यालयमा स्थानान्तरण गरिएको छ भने होल्डिङ सेन्टरमा राखिएका बालबालबालिकालाई पनि विद्यालय पठाएको छ । 

तर, मनोहराको सरस्वति आधारभूत विद्यालयका बालबालिका भने अझै स्कूल जानबाट वञ्चित छन् । मध्यपुर थिमि नगरपालिकाले निर्णय गर्न नसक्दा शिक्षक र विद्यार्थी दुवै अन्योलमा छन् । भक्तपुरको मनोहरा सुकुम्वासी बस्ती खाली गरिएसँगै त्यहाँ रहेको सरस्वती आधारभूत विद्यालयमाथि पनि डोजर चल्यो । 

अघिल्लो शैक्षिक सत्र यहाँ २ सय ५० विद्यार्थी थिए । तर, अहिले तितरबितर छन् । कोही होल्डिङ सेन्टरमा त कोही बालाजुको होटलमा पुगेका छन् । शिक्षकको सम्पर्कमा रहेका ६० विद्यार्थी लोकन्थलीको सामुदायिक भवन पुग्ने गर्छन् तर उनीहरूले अझै पढ्न पाएका छैनन् । 

१६ जना शिक्षक कार्यरत रहेको यो विद्यालयका वारेमा मध्यपुर थिमि नगरपालिकाले कुनै निर्णय नगर्दा शिक्षक र विद्यार्थीहरू अन्योलमा परेका छन् । सरकारले स्थानान्तरण वा अरू विकल्प दिनुपर्ने उनीहरूको माग छ । नयाँ शैक्षिक सत्रको भर्ना अभियान सकिएर पढाइ समेत सुरु भइसकेको छ । तर, विद्यालयले न नयाँ विद्यार्थी भर्ना गर्न सक्यो, न पढाइ । 

नगरपालिकाले समेत नजिकको विद्यालयमा स्थानान्तरणको निर्णय गर्न सकेको छैन । नगरपालिका भने सार्वजनिक जग्गा वा भवन खोजेर व्यवस्थापन गर्ने योजनामा रहेको बताउँछ । बालाजुको सुकुम्वासी बस्तीको बुद्धज्योति बाल उद्यान आधारभूत विद्यालयलाई बालाजुकै तरूण माविमा र बालकल्याण आधारभूत विद्यालयलाई पकनाजोलको नेपाल युवक माविमा स्थानान्तरण गरिएको छ । 

विस्थापित विद्यालयको जनशक्ति, भौतिक, वित्तीय सम्पतिलगायतको अभिलेख व्यवस्थापन गर्न समेत महानगरपालिकाले विद्यालयहरूलाई निर्देशन दिएको छ । विस्थापित विद्यालयका शिक्षकको सम्पर्कमा आएका विद्यार्थीहरूलाई स्थानान्तरण गरिएको र उनीहरूको पठनपाठन समेत सुरू गरिसकिएको महानगरले जनाएको छ । 

शिक्षकहरूलाई भने हालका लागि सम्बन्धित स्कुलमा हाजिर हुने व्यवस्थामात्र मिलाइएको छ । शिक्षकहरूले विद्यालयको अस्तित्व समाप्त हुन नदिन छुट्टै व्यवस्था गर्न स्थानीय तहलाई आग्रह गरेका छन् । कीर्तिपुरस्थित राधास्वामी आश्रमको होल्डिङ सेन्टरमा रहेका ४० बालबालिकालाई भने कीर्तिपुरकै जनविकास माविमा पढ्ने व्यवस्था मिलाइएको छ । 

बाँकी ३० जनालाई स्थानीय निजी विद्यालयहरूमा आवासीय सुविधासहितको व्यवस्था मिलाइएको छ । अन्य विस्थापित बालबालिकालाई पनि पहिचान गरी नजिकै विद्यालयमा व्यवस्था मिलाउने योजना बनाएको महानगरले जनाएको छ । शिक्षा मन्त्रालयले थोरै विद्यार्थी भएका विद्यालयहरूलाई नजिकको विद्यालयसँग समयोजन गर्दै आएको छ । 

विद्यालय तहको शिक्षा स्थानीय तहको जिम्मेवारी भएकाले उनीहरूले नै दरबन्दी मिलानसहितको समायोजन गर्ने मन्त्रालयले जनाएको छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।