प्यूठान । किसानले जंगली जनावरबाट बालीनाली जोगाउन अनेकन उपायहरू अपनाउने गरेका छन् ।
तर, प्यूठानमा भने तिनै उपायले मानव जीवन नै जोखिममा पारेको छ । जंगली जनावरलाई थापेको पासोमा पर्दा कतिपयले अकालमै ज्यानसमेत गुमाउने गरेका छन्। गत चैत २९ गते राति प्यूठानको गौमुखी गाउँपालिका ४ सुँगुरखालको जुपाल सामुदायिक वनमा गोली लागेर एक किशोरको मृत्यु भयो ।
नौबहिनी गाउँपालिका खवाङका १९ वर्षीय सुशील परियारको स्थानीय युवाले बँदेल ठानेर गोली चलाउदा मृत्यु भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनीसँगै रहेकी किशोरी घाइते भइन् । घाइतेको अहिले पनि उपचार चलिरहेको छ । बँदेलले बालीनालीमा क्षति पुर्याउने समस्याले आजितले किसान बँदेल मार्न जंगल पसेका थिए ।
बँदेल ठानेर नै गोली चलाउँदा किशोरको मृत्यु भयो । ऐरावती गाउँपालिका बिजुलीमा गत असोज ८ गते आफ्नै बारीमा जंगली जनावरबाट बालीनाली जोगाउन बिच्छाइएको तारमा परी ६० वर्षीय रुना सार्कीको ज्यान गयो । भदौ १४ गते माण्डवी गाउँपालिका तिरामममा मृत भेटिएकी ५७ वर्षीष लीला विक पनि जंगली जनावरलाई थापेको विद्युतीय पासोमा परेर मृत्यु भएको प्रहरीको अनुसन्धानमा उल्लेख छ।
गत आर्थिक वर्ष २०८१/०८२ मा जिल्लाभर जंगली जनावरलाई थापेको विद्युतीय पासो र अन्य कारणले तीन जनाको मृत्यु भयो । जंगली जनावरले पुर्याउने क्षति रोक्न किसानले बिच्छ्याउने विद्युतीय पासो, भरुवा बन्दुकलगायतको प्रयोगले अप्रिय घटना हुने गरेका छन् ।
जंगली जनावरबाट बाली जोगाउन किसानलाई ठूलो चुनौती बनिरहँदा जनावर लखेट्ने क्रममा भीरबाट लड्ने, आफैंले बोकेको बन्दुक पड्किएर ज्यान जानेजस्ता घटना दोहोरिन थालेका छन् । खेती जोगाउन विभिन्न उपाय अपनाए पनि पूर्णतः सफल भने देखिएका छैनन्।
जंगली जनावर लखेट्न हेरालुको व्यवस्था गर्नेदेखि तारजाली बाँड्ने, भोटे कुकुर वितरण गर्ने, बाँदर लखेट्ने यन्त्रसमेत वितरण गरियो । तर, किसानको सास्ती कम भएको छैन । जंगली जनावरले दिएको सास्ती एकातर्फ छ भने अर्कातर्फ मानिसको ज्यानै जाने गरेको छ। सरकारले जंगली जनावरको व्यवस्थापनमा चासो दिन आवश्यक छ।