
पाल्पा । पाल्पाका दुई दर्जन गाउँबस्ती अझैसम्म आधारभूत सञ्चार सुविधाबाट वञ्चित छन् ।
माथागढी, तिनाउ, निस्दी, रैनादेवी छहरा गाउँपालिकाका दुर्गम गाउँबस्तीमा मोबाइल नेटवर्कले काम नगर्दा स्थानीयले सास्ती खेप्नुपरेको हो। धेरै गाउँमा नेपाल टेलिकम र एनसेल दुवै सेवाप्रदायकको नेटवर्क आउँदैन ।
पाल्पाको निस्दी गाउँपालिकाको मित्याल, गल्धा, झिरुवास, सहलकोट, ज्यामिरेका दर्जन बढी गाउँमा अझै पनि सञ्चार सेवाप्रदायक नेपाल टेलिकमको नेटवर्कले काम गर्दैन । तिनाउ गाउँपालिकाको वडा नम्बर ५ को केराबारी, २४ माइललगायतको समस्या पनि उही हो ।
रैनादेवीछहरा गाउँपालिकाको बल्ढेङ्गढी, सत्यवती र जुठापौवाका आधा दर्जन बढी बस्तीमा अहिले पनि सञ्चार गर्न कठिन छ । माथागढी गाउँपालिकाको गोठादी, हात्तीलुङ, रहवास र बहादुरपुरका केही गाउँबस्तीमा पनि सहज सञ्चार सुविधा छैन ।
डाँडाका बस्तीमा टेलिकमको सेवा पाए पनि तल्लो भेगका नागकिरका साथै विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्थाबाट एकअर्कामा सम्पर्क गर्न कठिन छ । मोबाइल नेटवर्क नभएपछि एकअर्कामा सञ्चार गर्न स्थानीयले वाइफाइ जोडेर हृवाट्सएप र म्यासेन्जरको सहारा लिएका छन् ।
सिद्धार्थ राजमार्गको केराबारी, २४ माइललगायतमा समेत सञ्चार सम्पर्क हुन सक्दैन । स्थानीयले सेवाप्रदायकसँग धेरैपटक गुनासो गर्न पुगे पनि समाधान हुन सकेको छैन । ठाउँ ठाउँका डाँडामा नेपाल टेलिकम, एनसेललगायतका टावर राखिएका छन् ।
स्थानीयले नेटवर्कले काम नगरेको गुनासो गरेको सेवाप्रदायकको जानकारीमा पनि छ । नेटवर्क नै नटिप्ने स्थानका लागि नयाँ विटिएस जडानका लागि माग गरेको नेपाल टेलिकम पाल्पाले जनाएको छ । हुन त यसवर्ष पूर्वखोला र माथागढीमा नयाँ विटिएस जडान भएका छन् ।
नियमित नेटवर्क टिप्ने वा नटिप्ने प्राविधिकबाट जाँच गरिने भएकाले यसमा छिट्टै समाधान खोज्ने प्रयास टेलिकमको छ । मौसम बिग्रियो भने यो समस्या झनै चर्को हुन्छ। त्यसैले सञ्चारको सहजमाध्यम स्याथीयले मोबाइल फोन सम्पर्कको साटो इन्टरनेटलाई बनाएको छन् ।