न छानिए दलका नेता न चुनिए सचेतक

चैत्र २६, २०८२ |प्रकाश बम
 न छानिए दलका नेता न चुनिए सचेतक

काठमाडौै । प्रतिनिधिसभाको पहिलो बैठक बसेकै एक साता भइसक्यो । संसद् नियमित कार्यसूचीमा प्रवेश गरी नियमित संसदीय अभ्यास सुरु भए पनि, न नयाँ भनिएका दल न पुराना, कसैले दलको नेता चुन्न सकेका छैनन् त कसैले प्रमुख सचेतक तोकेका छैनन् ।

संसदीय गतिविधिमा प्रमुख प्रतिपक्षीको भूमिका निकै महत्त्वपूर्ण हुन्छ । तर यसपटक प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने आफ्नो भूमिका नै बिर्सिएको भान हुन्छ । कांग्रेसले अहिलेसम्म आफ्नो संसदीय दलको नेतासमेत चुन्न सकेको छैन ।

प्रमुख प्रतिपक्षीको संसदीय दलको नेता संवैधानिक परिषद्‌को सदस्यसमेत हुने भएकाले यो आकर्षक पद नै हो । त्यसैले पनि कांग्रेसभित्र यो पदका लागि हानाथाप नै चलिरहेको छ । विशेषगरी अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्यले दाबी गरिरहेका छन् । पूर्वसभापति शेरबहादुर देउवा समूहका नेता आङ्देम्बे पछिल्लोपटक भने सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मासँग सम्बन्ध सुधार गर्न खोजिरहनुभएको छ ।

दलको नेता चयन यति पेचिलो बनेको चाहिँ केसीको दाबीले हो । केसीलाई दलको नेता बनाउँदा नातावादको दोष लाग्ने भन्दै सभापति थापाले निर्णय लिन सकिरहनुभएको छैन । दुई जनाको दाबीका बीच आचार्यले पद हात पार्नसक्ने कांग्रेस वृत्तमा चर्चा छ ।

यता मतदान भएको खण्डका देउवा र कोइराला समूहका नेताले जित्नसक्ने र पार्टीभित्रको शक्ति समीकरण फेरिनसक्ने भय थापालाई छ । त्यसैले सर्वसम्मत नेता चयन गर्न थापा छलफलमा हुनुहुन्छ ।

यस्तै पुस्तान्तरणको मुद्दा बलियो बनिरहेको वर्तमान राजनीतिक परिदृश्यमा युवा सांसदलाई नै दलको नेता बनाउनुपर्ने आवाज पनि कांग्रेसभित्र चुलिएको छ ।

अर्को प्रतिपक्षी दल नेकपा एमालेले पार्टीभित्रकै दबाब र असहमितका बीच रामबहादुर थापालाई संसदीय दलको नेता त चयन गर्‍यो । तर उसले पनि उपनेता र प्रमुख सचेतक तथा सचेतक चयन गर्न सकेको छैन । दलको नेता चयनमा भएको कमजोरी उपनेता र सचेतक चयनमा सुधार्नुपर्ने आवाज एमालेभित्र चर्को छ । अब युवालाई अवसर दिनुपर्ने भन्दै उपनेतामा ऐन महर, क्षितिज थेवेलगायतको दाबी छ । अध्यक्ष केपी शर्मा ओली १३ दिन हिरासतमा बसेकाले यो विषयमा छलफल नभएको एमालेका नेता बताउँछन् । ओली हिरासतमुक्त भए पनि स्वास्थ्य प्रतिकूलताका कारण अस्पतालमै हुनुहुन्छ ।

यता नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले दलको नेता र प्रमुख सचेतक चयन गरिसकेका छन् । उपनेता र सचेतक भने चयन गर्न बाँकी छ । दलको नेता चयन गरेको श्रम संस्कृति पार्टीले सचेतक भने तोकेको छैन । यी दलहरू पार्टीभित्र छलफल चलिरहेको बताउँछन् ।

उसो त बालेन्द्र शाहलाई प्रधानमन्त्री नियुक्त गर्नकै लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उहाँलाई संसदीय दलको नेता चयन गरे पनि उसले अहिलेसम्म न दलको उपनेता, न प्रमुख सचेतक न सचेतक नै तोकेको छ । रास्वपा सांसदहरूका अनुसार त यो विषयमा खासै छलफल पनि भएको छैन ।

रास्वपाले उपनेता, र सचेतकहरू चयन गर्दा संसदीय समितिका सभापतिहरूका बारे पनि ख्याल गर्ने जनाएको छ ।

संसदीय गतिविधि सुरु भइसक्दा समेत नेता र सचेतक चयन नगरेर सत्ता र प्रतिपक्षी दुवैले संसदीय परम्पराको सम्मान गर्न अनकनाएको देखिन्छ । पार्टीभित्रको समीकरणको बहानामा संसदीय अभ्यास प्रभावित पार्नु कुनै हिसाबले पनि तर्कसम्मत होइन ।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।