ओली-लेखकले जेन-जी आन्दोलनमा गल्ती गरिएछ भनेर स्वीकार गर्न सक्नुपर्छ : महावीर पुन

चैत्र २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
ओली-लेखकले जेन-जी आन्दोलनमा गल्ती गरिएछ भनेर स्वीकार गर्न सक्नुपर्छ : महावीर पुन

काठमाडौं । प्रतिनिधि सभाका स्वतन्त्र सांसद महावीर पुनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी आन्दोलनमा क्रममा गलत गरिएछ भन्ने कुरालाई स्वीकार गर्न सक्नुपर्ने बताउनुभएको छ ।

मंगलबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो टिप्पणी गर्नुभयो । सांसद पुनले तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकले सो घटनामा गोली हान्ने आदेश नदिएको भए पनि सरकारको प्रमुख व्यक्ति भएको नाताले गल्ती गरिएछ भन्ने स्वीकार गरेर माफी माग्न हिच्किच्याउन नहुने बताउनु भयो । 

मातहतका कर्मचारीले गरेको गल्ती प्रमुख व्यक्तिले स्वीकार गर्नुपर्ने उहाँको तर्क थियो । उहाँले भन्नुभयो,‘आज उनीहरूले गोली चलाउने आदेश दिएनन् रे । तर प्रमुख त उनीहरू थिए नि त । अनि थाहा पाइएन भनेर सुख पाइन्छ ? आफू प्रमुख हुँदा आफू मातहतका कसैले गल्ती गर्‍यो, विरायो भने विराएछ भनेर भन्न त सक्नु पर्‍यो नि त । ल म क्षमा माग्छु पनि भन्नुपर्‍यो । क्षमा मागेर को मान्छे घटछ ? घट्दैन नि । विराएको कुरा, गल्तीभएको कुरालाई आफू जिम्मेवार व्यक्ति भएपछि गल्ती स्वीकार नगर्ने हो भने किन मुख्य व्यक्ति हुने ? त्यो मेरो आफ्नो मनको कुरा हो ।’

फरक प्रसंगमा सांसद पुनले संसद्‌मा सांसदहरूले राखेका माग सरकारले सम्बोधन गरेर अघि बढनुको विकल्प नरहेको समेत बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.