कांग्रेस संसदीय दलको नेता सहमतिमा नै चयन हुन्छ : अर्जुननरसिंह केसी

चैत्र २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
कांग्रेस संसदीय दलको नेता सहमतिमा नै चयन हुन्छ : अर्जुननरसिंह केसी

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी पार्टी संसदीय दलको नेता सहमतिमा चयन हुने दाबी गर्नुभएको छ ।

सोमबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उहाँले सो कुरा बताउनुभएको हो । संसदीय दलको नेताको आकांक्षी नेता केसीले आफूले संघीय संसद्‌मा ज्येष्ठ सदस्यको हैसियतले सभामुखको भूमिका निर्वाह गर्नुपरेकाले पार्टी संसदीय दलको नेता चयनको काममा ढिलाइ हुन गएको समेत स्पष्ट पार्नुभयो । 

सभामुखको जिम्मेवारीमा बसेका व्यक्तिले पार्टीको गतिविधिमा भाग लिन नपाउने भएकाले पनि कांग्रेस पदाधिकारी बैठकले दलको नेता चयनका लागि आवश्यक निर्णय ढिलाइ गर्नुपर्ने अवस्था आएको उहाँको भनाइ थियो । नेता केसीले दलको नेतामा केही नेताहरूको दाबी रहेको उल्लेख गर्दै आपसमा छलफल गरेर सहमतिमा चयन हुने जिकिर पनि गर्नुभयो । उहाँले २–३ दिन भित्र कांग्रेस संसदीय दलको नेता चयन हुने समेत बताउनु भयो ।

नेता केसीले सभामुख गरिमामय पदभएकाले संसदको विशेषाधिकारको संरक्षण हुनेगरी भूमिका निर्वाह गर्नुपर्ने अनुभूति आफूले गरेको पनि प्रतिक्रिया दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.