
काठमाडौं । नेकपा (एमाले) सचिवालय बैठक जारी छ ।
पार्टी मुख्यालय च्यासलमा जारी बैठकमा बिहीबार संसद् बैठकमा उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापाले दिनुभएकाे अभिव्यक्तिबारे छलफल भइरहेको छ । भदौ २३ को जेन-जी आन्दोलन भदौ २४ को विध्वंस र फागुन २१ को निर्वाचन परिणामको विषयलाई उपाध्यक्ष थापाले दिनुभएकाे अभिव्यक्ति विवादित भएपछि एमालेले सचिवालय बैठक बोलाएको हो ।
संसद् बैठकमा थापाले तत्कालीन सुशीला कार्की सरकार, नेपाली सेना, कर्मचारी, विदेशी शक्ति र केही गैरसकारी संस्थाको सहयोगमा राष्ट्रिय स्वतन्त्र पार्टीले अभूतपूर्व मत ल्याएको बताएपछि एमालेभित्र ठूलै तरङ्ग आएको छ । अध्यक्ष केपी शर्मा ओली प्रहरी हिरासतमै रहेको बेला थापा बुधबार संसदीय दलको नेता बनेर बिहीबारको संसद्को बैठकमा एमालेको धारणा राख्नुभएको थियो ।
निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिताउन ‘राज्य र विभिन्न शक्ति लागेको उहाँको आरोप छ । एमाले संस्थापनइतर थापाको प्रस्तुति ‘युद्धकालीन माओवादी’ जस्तो भएको, आधारबिनानै सेना, कर्मचारीलाई आरोप लगाएको भन्दै आपत्ति जनाएका छन् । ओली निकट नेताहरूले थापाको भनाइप्रति मौन छन् ।