थापाको अभिव्यक्तिले एमालेमा चर्को असन्तुष्टि

आज दिउँसो पार्टीको आकस्मिक सचिवालय बैठक
चैत्र २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
थापाको अभिव्यक्तिले एमालेमा चर्को असन्तुष्टि

काठमाडौँ । प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठकमा नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाले राखेको अभिव्यक्तिले यतिबेला पार्टीभित्र चर्को असन्तुष्टि सिर्जना भएको छ । थापाले नेपाली सेना, कर्मचारीतन्त्रदेखि पूर्ववत् सरकार तथा गैरसरकारी संस्थाहरूलाई लक्षित गर्दै दिएको विवादास्पद अभिव्यक्तिमा एमाले पदाधिकारीहरूले नै आपत्ति जनाएका छन् ।

पार्टीका कार्यवाहक अध्यक्षसमेत रहनुभएका थापाले प्रतिनिधिसभा बैठकमा निर्वाचन परिणामप्रति नै संशय राख्दै निर्वाचन प्रक्रिया र जनादेशको निष्पक्षतामा प्रश्न गर्नुभएको थियो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीको जित स्वाभाविक नभएको भन्दै सेना, अन्तरिम सरकार, बारबरा फाउन्डेसन, कार्की आयोगको बलमा आएको जितमा ती संस्थालाई पनि बधाई भन्दै व्यङ्ग्य गर्नुभएको थियो ।

एमाले पदाधिकारीहरूले भने यसबारे गम्भीर आपत्ति जनाएका छन् । उपाध्यक्ष विष्णुप्रसाद पौडेलले थापाद्वारा व्यक्त विचार पार्टीको स्थापित नीति र मान्यताविपरीत भएको प्रस्ट उल्लेख गर्नुभएको छ । यस्तै एमाले उपमहासचिव योगेश भट्टराईले पनि थापाको उक्त सम्बोधनको खण्डन गर्नुभएको छ । संसद्‌मा विपक्षी भए पनि वर्तमान राजनीतिक व्यवस्था स्थापित गर्न भूमिका खेलेको र संविधान निर्माणमा नेतृत्व गरेको एमाले राज्यपक्षीय नै रहेको उल्लेख गर्दै सेना, कर्मचारीतन्त्रलगायत संयन्त्रप्रति आफूहरूको सम्मान र विश्वास कायमै रहेको बताउनुभएको छ ।

थापाको अभिव्यक्तिकै कारण एमालेवृत्त अहिले तरंगित छ । एमालेले आज दिउँसो पार्टीको आकस्मिक सचिवालय बैठक बोलाएको छ । बैठकमा थापाको अभिव्यक्तिबारे छलफल हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.