
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ । बैठक बिहान ८ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बसिरहेको छ ।
यसअघि शुक्रबारको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले पेस गर्नभएको चुनावी समीक्षा प्रतिवेदन र सभापतिबाट गगन थापाले दिएको राजीनामाका विषयमा छलफल भएको थियो । आज यिनै विषयमा बाँकी सदस्यहरूले धारणा राख्ने क्रम जारी हुनेछ । यस्तै सभापतिबाट थापाले दिएको राजीनामा भने अस्विकार गर्नुपर्ने अधिकांश सदस्यहरूको धारणा छ ।
शुक्रबारको बैठकमा उपसभापति शर्माले निर्वाचन समीक्षाको प्रस्ताव पेस गर्दै विशेष महाधिवेशन र त्यसबाट आएको केन्द्रीय कार्यसमितिको ५० दिनले नभएर त्यसअगाडिदेखि थुप्रिएको विसंगतिका कारण निर्वाचनमा पराजय भोग्नुपरेको निष्कर्ष सुनाउनुभएको थियो । २७ बुँदे निर्वाचन समीक्षामा निर्वाचनमा एउटा दलसँग गठबन्धन गरेर निर्वाचन पछाडि अर्को दलसँग सरकार बनाएको, कांग्रेस–एमाले गठबन्धन सरकारले गर्नुपर्ने काम नगरेको, नगर्नुपर्ने काम गरेको, निर्वाचन जितेर ठूलो पार्टी बने पनि सरकार र प्रमुख प्रतिपक्ष कुनै पनि हैसियतमा कांग्रेस नदेखिएको उल्लेख गरिएको छ ।
यता देउवा पक्षका नेताहरू भने पहिलेको नेतृत्वलाई अपजस थुपारेर अहिलेको समिति चोखिन खोजेको आरोप लगाएका छन् । यस्तो समीक्षाले पार्टीको आधिकारिकता विवादमा अदालतको फैसला आउनुअघि एकता हुने वातावरण खलबल्याउने उनीहरूको भनाइ छ । एकताको पहल नै नगरी ‘एकपक्षीय’रूपमा केन्द्रीय कार्यसमिति बैठक राखेको भन्दै देउवा पक्ष असन्तुष्ट बनेको छ ।