
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टी कार्यालय सानेपामा सुरू भएकाे छ ।
सभापति गगन थापाले पदबाट राजीनामा दिएकाले उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बैठक बसेको हो । बैठकमा सभापति थापाको राजीनामाबारे छलफल गरेर टुंगोमा पुगिने कांग्रेस महामन्त्री प्रदीप पौडेलले जानकारी दिनुभयो । शुक्रबारको बैठकले सभापति थापाको राजीनामा अस्वीकार गर्ने सम्भावना बढी छ ।
बिहीबारनै उपसभापति विश्वप्रकाश शर्माले थापाको राजीनामा अस्वीकार गर्ने संकेत दिइसक्नुभएको छ । बैठकमा निर्वाचनको प्रारम्भिक समीक्षा र सभापतिको राजीनामाका विषयमा छलफल हुने बताइएको छ । सभापतिले राजीनामा उपसभापतिलाई बुझाउनुपर्ने र उपसभापतिले केन्द्रीय कार्यसमिति बैठकमा त्यसलाई प्रस्तुत गर्नुपर्ने व्यवस्था पार्टी विधानमा छ ।
विशेष महाधिवेशनबाट चुनिएको थापा नेतृत्वको केन्द्रीय कार्यसमितिमा पूर्वसभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षका कोही पनि छैनन् । केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले धेरै अगाडिदेखि थापालाई भेटेर नै राजीनामा नदिन दबाब दिँदै आएका थिए ।
पार्टी र आफू स्वयंले निर्वाचनमा हार बेहोरेपछि नै सभापति थापाले राजीनामा दिने मनस्थिति बनाउनुभएको थियो । तर, उपसभापति शर्माले थापाको राजीनामा रोक्दै आउनुभएको थियो ।