
पाल्पा । पाल्पामा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । शनिबार राति माथागढी गाउँपालिका–४, झडेवाबाट वडा नम्बर ७ को रहबासस्थित चुनढुंगा खानीतर्फ गइरहेको लु२ख ४५२५ नम्बरको खाली टिपर दुर्घटनामा परेको थियो ।
टिपरमा सवारी चालकसहित चार जना सवार थिए । दुर्घटनामा मृत्यु हुनेमा अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका–४, का २६ वर्षीय चालक चिन्ताबहादुर सुनार, सोही स्थानका २६ वर्षीय सुनिल विक, रूपन्देही देवदह नगरपालिका-२ खैरेनीका २६ वर्षीय सुनिल नेपाली र पाल्पाको तानसेन नगरपालिका-१० का ३३ वर्षीय राजन चिदी रहेका छन् ।
यीमध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको हो भने चिदीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिनुभयो ।
टिपर सडकदेखि ५० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।