
काठमाडौँ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले होर्मुज समुद्री मार्ग ४८ घण्टाभित्र पूर्णरूपमा सञ्चालनमा ल्याउन इरानलाई निर्देशन दिनुभएको छ । निर्देशन अवज्ञा गरे अमेरिकाले इरानका ऊर्जा केन्द्रहरू ध्वस्त पार्ने ट्रम्पले चेतावनी दिनुभएको छ ।
नेपाली समयअनुसार ट्रम्पले आज बिहान साढे ५ बजे यस्तो चेतावनी दिनुभएको हो । अर्थात् इरानले पर्सि बिहान साढे ५ बजेभित्र होर्मुज मार्ग पूर्णरूपमा खोल्नुपर्ने हुन्छ । अन्यथा सुरुमै सबैभन्दा ठूलो ऊर्जा केन्द्रमा आक्रमण गर्ने ट्रम्पको चेतावनी छ ।
यता इरानले भने आफ्ना ऊर्जा केन्द्रमा आक्रमण भए, पश्चिम एसियाभर अमेरिका संलग्न ऊर्जा केन्द्रहरूमा प्रतिआक्रमण गर्ने जवाफ दिएको छ ।
सामान्य अवस्थामा विश्वभरको करिब २० प्रतिशत तेल र प्राकृतिक ग्यासको ढुवानी होर्मुज मार्गबाटै हुने गरेको थियो । तर इरानको बन्देज र ढुवानी गर्ने जहाजमा आक्रमण हुनाले अहिले विश्वव्यापी इन्धन तथा ऊर्जा संकट निम्तिएको छ । यो संकटले पछिल्लो केही सातायता इन्धनको मूल्यमा अत्यधिक वृद्धि देखिएको छ ।
यता ट्रम्पले भने आफूले तालिकाभन्दा हप्तौँअघि युद्धको लक्ष्य पूरा गरेको बताउनुभएको छ । उहाँले इरानले सम्झौता गर्न चाहेको पनि बताउनुभएको छ । यद्यपि आफूले सम्झौता नगर्ने उहाँको दाबी छ ।