
काठमाडौं । संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरू संसदीय दलको नेता चयन गर्ने गृहकार्यमा जुटेका छन् ।
रास्वपाले भावी प्रधानमन्त्री बालेन्द्र शाह, नेकपाले संयोजक पुष्पकमल दाहाल र श्रम संस्कृति पार्टीले अध्यक्ष हर्क साम्पाङलाई दलको नेता बनाउने तयारी गरेको छ । कांग्रेस, एमाले र नेकपामा भने पुरानै नेता संसदीय दलको नेताका लागि आकांक्षी देखिएका छन् ।
कांग्रेसमा युवालाई दलको नेता बनाउनुपर्ने आवाज उठिरहेको छ । एमालेले वरिष्ठतालाई प्राथमिकता दिने योजना बनाएको छ । राप्रपाले प्रवक्ता ज्ञानेन्द्र शाहीलाई संसदीय दलको नेता बनाएको छ । प्रतिनिधिसभामा झन्डै दुईतिहाइ बहुमत रहेको रास्वपाले नयाँ सरकार गठन गर्दै छ ।
१३ चैतमा नयाँ प्रधानमन्त्रीले सपथ लिने तयारी छ । त्यसैले रास्वपाले त्यसअघि नै वरिष्ठ नेता शाहलाई संसदीय दलको नेता चयन गर्नेछ । प्रतिनिधिसभा सदस्यहरूको सपथ भने १२ चैतमा हुँदैछ । त्यही दिन रास्वपाले केन्द्रीय समिति बैठक बोलाएको छ । विधान संशोधन गरी सोही दिन शाहलाई संसदीय दलको नेता चयन गर्ने तयारी छ ।
दोस्रो ठूलो दल कांग्रेसको संसदीय दल नेतामा अर्जुननरसिंह केसीले सार्वजनिक रूपमा दाबी गरेका छन् । कांग्रेसका एक नेताका अनुसार भीष्मराज आङदम्बेका विषयमा पनि छलफल भएको छ । प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमालेका २५ जनामध्ये उपाध्यक्ष रामबहादुर थापा सबभन्दा वरिष्ठ नेता हुनुहुन्छ ।
उपाध्यक्षसमेत रहेका थापा संसदीय दलको नेता हुने सम्भावना बढी रहेको नेताहरूको भनाइ छ । संसदीय दलको नेतामा सचिव पद्मा अर्याल र सुहाङ नेम्वाङको पनि चर्चा छ । प्रतिनिधिसभामा १७ सिट रहेको नेपाली कम्युनिष्ट पार्टीमा भने संयोजक दाहाल नै संसदीय दलको नेता बन्ने पक्का भएको छ ।
यसपालि चुनाव जित्ने उहाँ एक्लो पूर्वप्रधानमन्त्री हुनुहुन्छ । यसपटक संसद्मा उदाएको श्रम संस्कृति पार्टीको संसदीय दलका नेता अध्यक्ष हर्कराज राई (साम्पाङ) हुने पक्का भएको छ । श्रम संस्कृति पार्टीका सात सांसद छन् ।