
काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले निर्वाचनको हार वा जितकै आधारमा मात्र नेतृत्वको परिक्षण गरिनु गलत हुने बताउनुभएको छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यसमितिको बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टी सभापति गगनकुमार थापाको राजीनामा बेठिक भएको बताउनु भयो । पार्टी र मुलुक नै बदल्छु भनेर मैदानमा आएको क्याप्टेनले जिम्मेवारी छोडेर जान नमिल्ने टिप्पणी उहाँले पनि गर्नुभयो ।
उहाँले निर्वाचनको परिणामबाट नआत्तिन पार्टी कार्यकर्ताहरूलाई आग्रह समेत गर्नुभयो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीलाई स्थिरता, समृद्धि र विकास दिन आग्रह गर्दै लोकतन्त्रलाई संरक्षण गर्ने काममा कांग्रेसले सहयोग गर्ने समेत बताउनु भयो । उहाँले पार्टीका विगतका विकृति र विसंगतिहरू रातारात समाधान नहुने तर्क गर्दै केसीले ५० दिनको छोटो अवधिमा जादुई परिवर्तन खोज्नु व्यवहारिक नहुने भन्दै पार्टीलाई थापाको आवश्यकता रहेको बताउनु भयो ।
पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा सभापति थापाको राजीनामा र प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणामबारे छलफल भइरहेको छ ।