रूसी सम्बन्धबारे भएको अनुसन्धानका नेतृत्वकर्ता मुलरको ८१ वर्षको उमेरमा निधन

चैत्र ८, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
रूसी सम्बन्धबारे भएको अनुसन्धानका नेतृत्वकर्ता मुलरको ८१ वर्षको उमेरमा निधन

काठमाडौँ । अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) का पूर्वनिर्देशक रोबर्ट मुलरको निधन भएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पको २०१६ को राष्ट्रपतीय चुनाव अभियान र रूससँगको सम्बन्धबारे भएको हाई-प्रोफाइल अनुसन्धानका नेतृत्वकर्ता मुलरको ८१ वर्षको उमेरमा पार्किन्सन्सका कारण मृत्यु भएको हो ।

परिवारले जारी गरेको वक्तव्यमा मुलरको निधन पुष्टि गर्दै यस कठिन समयमा गोपनीयताको सम्मान गर्न आग्रह गरिएको छ । मुलरलाई जर्ज डब्ल्यू बुसले सन् २००१ सेप्टेम्बर ११ को आक्रमणभन्दा केही दिनअघि एफबीआई निर्देशकमा नियुक्त गर्नुभएको थियो । मुलरलाई त्यतिबेला अमेरिकी सिनेटले सर्वसम्मत अनुमोदन गरेको थियो ।

मुलरको १० वर्षे कार्यकाल सकिएपछि पनि तत्कालीन राष्ट्रपति बाराक ओबामाले उहाँलाई पदमा निरन्तर रहन आग्रह गर्नुभएको थियो । कुल १२ वर्ष सेवा गर्नुभएका मुलर, जे एड्गर हुवरपछि सबैभन्दा लामो समय सेवा गर्ने एफबीआई निर्देशक हुनुहुन्छ ।

मुलरलाई ट्रम्प प्रशासनले रूससम्बन्धी संवेदनशील राजनीतिक अनुसन्धानको नेतृत्व गर्न विशेष वकिलका रूपमा समेत नियुक्त गरेको थियो । तर अनुसन्धान समाप्त हुँदासम्म, मुलरको कामप्रतिको धारणा दलगत रूपमा विभाजित हुन पुगेको थियो ।