
काठमाडौं । भीषण हावाहुरीसहितको वर्षाले देशका विभिन्न स्थानको जनजीवन प्रभावित भएको छ ।
पश्चिमी वायुको पानी पार्ने प्रणाली अझै केही घन्टा सक्रिय रहने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सबैमा अनुरोध गरेको छ । कतिपय स्थानमा असिनापानी परेको छ । जसका कारण जनजीवन प्रभावित भएको छ भने खेतीबालीमा नोक्सानी पुगेको छ ।
कर्णाली, लुम्बिनी, बागमती र मधेश प्रदेशका विभिन्न जिल्लामा हावाहुरी र वर्षाको प्रभाव बढी देखिएको छ । हावाहुरी र असिनापानीका कारण कतिपय विद्यालयले विद्यार्थीहरूलाई माइकिङ गरेरै कक्षाकोठाभित्र सुरक्षित बस्न आग्रह गरेका छन् । परीक्षा भएको र पठनपाठन चलिरहेकोले विद्यार्थीलाई घरसम्म पुर्याउन विद्यालयहरूले समन्वयसमेत गरेका छन् । केही क्षेत्रमा दिउँसै अँध्यारो जस्तै भएको छ ।
देशका केही स्थानमा यति बेला पानी परिरहेको छ । पश्चिम नेपालका केही स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको हो । काठमाडौं उपत्यकामा पनि पानी पर्न सुरू भएको छ । पश्चिमी वायुको पानी पार्ने ठूलो प्रणाली नेपालगञ्ज हुँदै पोखरातिर लागेको छ ।
पश्चिमी वायुको ठूलो प्रणाली नेपालगन्ज–दाङ हुँदै बुटवल, पोखरा पुग्दैछ भने काठमाडौंको दक्षिणी भागबाट वर्षा सुरू भएको छ । अबको केही घन्टामै यो प्रणाली थप सक्रिय हुने र हावाहुरी, असिनापानी बढ्दै जाने सम्भावना बलियो जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
पछिल्लो तीन घन्टामा दाङको अम्बापुरमा सबैभन्दा बढी ३३ दशमलब ८ मिलिमिटर पानी परेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीमका केही जिल्लामा पानी परिरहेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तीन दिन देशका विभिन्न भागमा भारी वर्षा, हिमपात र ठूलो हावाहुरीको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।