काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आह्वान हुँदासम्म सभापति गगन थापाको राजीनामाबारे सुनिएको थिएन। तर भोलि शुक्रबारका लागि तय बैठकको मुख्य एजेन्डा नै थापाको राजीनामाको विषय हुने भएको छ। विशेष महाधिवेशनमार्फत सर्वसम्मत सभापति चयन भएका थापाको राजीनामा अस्विकार गर्ने अधिकांश पार्टी पदाधिकारीको मत छ। तर आफ्नै पक्षका नेताहरूको मनसुबा नबुझी थापाले राजीनामा दिएका होलान् भन्ने विश्वास गर्न कठिन छ।
त्यसमाथि कांग्रेसबाट संसद्मा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदको अन्तिम सूची उहाँकै हस्ताक्षरमा निर्वाचन आयोगमा गएको हो। सभापति थापालाई नै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै चुनावमा होमिएको कांग्रेस लज्जास्पद हार बेहोरेपछि पार्टी द्विविधामा छ भने सभापति थापा बिलखबन्दमा। यो बिलखबन्दबाट सभापति थापा र पार्टी नेतृत्व कसरी निस्कन्छ? केन्द्रीय समितिको शुक्रबारको बैठकले तय गर्नेछ।
प्रतिनिधिसभा निर्वाचनपछि नेपाली कांग्रेसले शुक्रबारका लागि केन्द्रीय समिति बैठक बोलायो। बैठकबारे बुधबार नै सूचना निकालिएको थियो। निर्वाचनमा पार्टीको हारको समीक्षा हुने अपेक्षा गरिएको थियो। बिहीबार बिहान कान्तिपुरले समाचार लेख्यो – कांग्रेस सभापति गगन थापाले दिए राजीनामा। थापाले राजीनामा बुजाउनुभएको थियो, उपसभापति विश्वप्रकाश शर्मालाई । बिहिबार मध्याह्नसम्म पार्टीका पदाधिकारीदेखि प्रवक्तासम्म सभापति थापाको राजीनामाबारे बेखबर थिए, कान्तिपुरकै समाचारबाट राजीनामाबारे चाल पाए। अब शुक्रबारको बैठक थापाको राजीनामामा केन्द्रित हुनेछ। उपसभापति शर्माले बिहीबार साँझ सामाजिक सञ्जालमार्फत सभापति थापाको राजीनामा अस्विकृत प्रस्ताव पेस हुने बताउनुभएको छ ।
शर्माले डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्यायसंगत हुँदैन भन्दै थापाको राजीनामा अस्विकार गर्ने पक्षमा उभिनुभएको छ। महामन्त्री गुरुराज घिमिरेले पनि सभापतिको राजीनामाको औचित्य र सान्दर्भिकता नभएको तर्क गर्नुभएको छ।
गत भदौमा भएको जेन-जी आन्दोलनपछि विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्दै चुनावमा होमिएको नेपाली कांग्रेसले लज्जास्पद पराजय भोगेपछि सभापति थापालाई राजीनामाको दबाब चौतर्फी बढेको थियो। प्रधानमन्त्रीको उम्मेदवार घोषित स्वयं थापा नै समेत पराजित हुँदा उहाँमाथि थप नैतिक संकट परेको हो। विशेष महाधिवेशन प्रक्रिया नै अस्विकार गरेका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरूले समेत थापाको राजीनामा माग्दै आएको थियो। थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएपछि कांग्रेस वृत्तमा मात्रै नभई चौतर्फी तरंग फैलिएको छ। हरेक महत्त्वपूर्ण विषयमा सामाजिक सञ्जालमा बोलिरहने थापा निर्वाचनयता मौन हुनुहुन्छ। राजीनामाजस्तो विषयमा भने औपचारिकरूपमा सार्वजनिक नगर्नुले पनि धेरैलाई चकित बनाएको छ। विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमिति शतप्रतिशत थापाको पक्षमा छ।
‘बदल्यौँ कांग्रेस, बदल्छौँ देश’ भन्ने नारासहित देउवा नेतृत्वलाई विस्थापन गर्नै थापाको नेतृत्वमा कांग्रेस चुनावमा होमिएको थियो। तर, ०७९ को निर्वाचनमा ८९ सिटसहित पहिलो दल बनेको कांग्रेस यसपटक प्रत्यक्ष र समानुपातिक गरी ३८ सिटमा खुम्चियो। देउवा पक्षका नेताहरू भने थापाको राजीनामाले मात्रै समस्याको समाधान नहुने र आफूहरू सर्वोच्च अदालतको फैसलापछि नियमित महाधिवेशनमा जाने बताइरहेका छन्।
विधानत: सभापतिले दिएको राजीनामा केन्द्रीय समितिले स्वीकृत गर्ने र उपसभापतिले कार्यवाहकको जिम्मेवारी सम्हाल्दै ६ महिनाभित्र अधिवेशनमार्फत नयाँ सभापति चयन गर्नुपर्छ। राजीनामा स्वीकृत भएको खण्डमा थापालाई असन्तुष्ट पक्षलाई समेत साथ लिएर तत्काल नियमित महाधिवेशनमार्फत् पुन: नेतृत्वको दाबी गर्ने अवसर हुनसक्छ। तर केन्द्रीय समितिले थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरे थापाको अर्को रणनीति के हुन्छ?