आगामी वर्षका लागि सरकारले लिने आन्तरिक ऋणको सीमा निर्धारण

चैत्र ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
आगामी वर्षका लागि सरकारले लिने आन्तरिक ऋणको सीमा निर्धारण

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल सरकारले उठाउन सक्ने आन्तरिक ऋणको सीमा तय गरिएको छ ।

राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगले नेपालको समष्टिगत आर्थिक स्थिति, राजस्व र खर्चको अनुमान र बजार सहजतासमेतको विश्लेषण गरी नेपाल सरकारले आर्थिक वर्ष ०८३/८४ का लागि उठाउन सक्ने आन्तरिक ऋणको सीमा निर्धारण गरेको हो । 

आयोगकाअनुसार आगामी वर्षमा संघीय सरकारले जीडीपीको ५.५ प्रतिशतमा नबढ्ने गरी आन्तरिक ऋण परिचालन गर्न सक्नेछ । आयोगले दिएको जीडीपीको ५.५ प्रतिशतको सीमाका आधारमा आगामी आवमा नेपाल सरकारले ३ खर्ब ९३ अर्ब ४१ करोड र"पैयाँसम्म आन्तरिक ऋण परिचालन गर्न सक्नेछ । 

चालु आवमा सरकारले ३ खर्ब ६२ अर्ब रूपैयाँ आन्तरिक ऋण परिचालनको लक्ष्य लिएको छ । फागुन मसान्तसम्ममा २ खर्ब ४३ करोड ६६ लाख परिचालन गरिसकेको छ । जुन कुल लक्ष्यको ६७.३१ प्रतिशत बराबर हो । वित्त आयोगले प्रतिफल दिने आयोजना तथा कार्यक्रममा मात्रै आन्तरिक ऋण परिचालन गर्न सुझाव दिएको छ । 

आयोगले आयोजनाहरूको लागत लाभ विश्लेषण गरी प्रचलित पुँजीको लागतभन्दा वित्तीय आन्तरिक प्रतिफलदर बढी भएका नाफामूलक आयोजना र आर्थिक आन्तरिक प्रतिफल दर बढी भएका सामाजिक क्षेत्रका आयोजनामा मात्र आन्तरिक ऋणको उपयोग गर्न भनेको छ ।

आयोगकाअनुसार आगामी वर्ष सरकारले ऋण लगानी गरी सञ्चालन हुने क्रमगत आयोजना वा नयाँ आयोजनाको पहिचान, विकास र छनोट गर्दा त्यसको कार्यान्वयनबाट प्राप्त हुने प्रतिफलबाट ऋण लगानीको साँवा र ब्याज भुक्तानी गर्न सकिने सुनिश्चित गर्नुपर्नेछ ।

आन्तरिक ऋणको उपयोग रोजगारीको अवसर सिर्जना गर्नसक्ने, दीर्घकालीन लाभ प्रदान गर्ने तथा पुँजी निर्माणमा योगदान गर्नसक्ने आयोजनाका लागि विनियोजन गनुपर्ने छ भने चालु र प्रशासनिक खर्चमा कडाइका साथ निषेध गर्न समेत सरकारलाई आयोगले भनेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.