पश्चिम एसियामा रहेका नेपाली नागरिकको विवरण संकलन जारी : हालसम्म ८२ हजार बढीले विवरण दर्ता गराए

चैत्र ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
पश्चिम एसियामा रहेका नेपाली नागरिकको विवरण संकलन जारी : हालसम्म ८२ हजार बढीले विवरण दर्ता गराए

काठमाडौैं । परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमा हालसम्म पश्चिम एसियाबाट ८२ हजार एकसय जना नेपाली नागरिकले आफ्नो विवरण दर्ता गराएको जनाएको छ ।

शुक्रबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले सो जानकारी दिनुभएको हो । उहाँकाअनुसार अनलाइन दर्ता प्रणालीमा दर्ता भएकामध्ये करिब ६ हजार जनाले सुरूमा आफूहरू असुरक्षित रहेको जानकारी गराएका थिए । तर, पछिल्ला दिनहरूमा असुरक्षित महशुस गर्नेहरूको संख्या उल्लेख्य रूपमा घटेको उहाँको दाबी छ । 

इजरायल, अमेरिका र इरानबीच बढ्दो तनावका बीच पश्चिम एसियाका विभिन्न देशहर"बाट मन्त्रालयको आपतकालीन कक्षमा हालसम्म ७८ वटा कलसहित कुल १ सय ७० पटक सम्पर्क भएको क्षेत्रीले उल्लेख गर्नुभयो । उहाँले अवस्था सामान्य बन्दै गएको कारण श्रम स्वीकृतिको विषयमा जानकारी लिन धेरैजसो सम्पर्क हुने गरेको जानकारी दिनुभयो । 

उहाँले मन्त्रालयले आफ्ना १० वटै नियोगहरूमार्फत समस्यामा परेका नेपालीहरूको अवस्थाबारे निरन्तर जानकारी लिने र आवश्यक समन्वय गर्ने कार्य भइरहेको समेत जानकारी दिनुभयो । ब्रिफिङका क्रममा प्रवक्ता क्षेत्रीले हाल कुनै पनि नेपाली नागरिक विदेशका ट्रान्जिटमा नरहेको जानकारी दिनुभयो । 

जेद्दामा रहेका ५२ जना हजयात्रीहरू समेत स्वदेश फर्किसकेको उहाँको भनाइ छ । उहाँले पश्चिम एसियामा रहेका नेपाली नागरिकको सुरक्षामा सरकार गम्भीर रहेको भन्दै आवश्यक परेको खण्डमा उद्धारको लागि समेत तयार रहेको जानकारी दिनुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.