समानुपातिक नै असमान, ३७ जिल्लाबाट शून्य प्रतिनिधित्व

चैत्र ५, २०८२ |अमर क्षितिज भण्डारी
समानुपातिक नै असमान, ३७ जिल्लाबाट शून्य प्रतिनिधित्व

दाङ । प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ दलहरूले पाएको मतको अनुपातअनुसार सबै १ सय १० सिटको बाँडफाँट भइसकेको छ । संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थापछि बनेको नेपालको संविधान २०७२ ले परिकल्पना गरेको सामाजिक समावेशीकरणको सिद्धान्तअनुसार समानुपातिक प्रतिनिधित्वका लागि दलहरूले सबै भूगोल, जातिसमूह, प्रदेश र जिल्लालाई समेट्न सक्नुपर्ने हो । तर व्यवहारमा यसपटक पनि त्यसो हुन सकेन ।

दलहरूले यसपटक आफूले पाएको समानुपातिक सिट बाँडफाँटमा ३७ जिल्ला छुटाउँदा ठूलो भूगोल र पिछडिएको क्षेत्र प्रतिनिधित्व हुनबाट वञ्चित भएको छ ।

प्रतिनिधित्वको नाममा समावेशिता पूरा गरेजस्तो देखिए पनि यसपटक पनि दलहरू समानुपातिक सांसद चयन गर्दा वास्तविक भूगोल र क्षेत्रीय सन्तुलनमा कमजोर देखिएका छन् । त्यसो त त नातागोता र पहुँचवालालाई समानुपातिक सांसद बनाएर दलहरूले यसपटक पनि समावेशीकरणको सुन्दर परिकल्पनालाई धमिल्याउने चेष्टा गरेका छन् । १ सय १० कोटा रहेकोमा दलहरूले ३७ जिल्लालाई शून्य गराएर ४० जिल्लाबाट मात्रै समानुपातिक सांसद छान्नुले प्रतिनिधित्वका हिसाबले ठूलो भूगोल र प्रशासनिक इकाइ छुटेको प्रस्ट छ ।

दलहरूले समानुपातिकका लागि देशैभर भोट मागे । तर एउटै जिल्लाबाट १७ जनासम्म समानुपातिक सांसद छनोट गर्दा ३७ जिल्लाबाट एक जना पनि पर्न सकेनन् । जसका कारण मिश्रित निर्वाचन प्रणालीको वास्तविक मर्मबाट चुकेको देखिएको छ ।

समानुपातिकतर्फको १ सय १० सिटमध्ये रास्वपाका ५७, नेपाली कांग्रेसका २०, नेकपा एमालेका १६, नेपाली कम्युनिस्ट पार्टीका ९, श्रम संस्कृति पार्टी र राप्रपाका समान ४-४ जना सांसद बनेका छन् । यसपटक ४० जिल्लाबाट कम्तीमा एक समानुपातिक सांसदको प्रतिनिधित्व रहेको छ । सबैभन्दा धेरै १७ जना समानुपातिक सांसद काठमाडौँ जिल्लाले पाएको छ । कर्णाली प्रदेशका १० मध्ये सुर्खेत र कालिकोटले मात्रै समानुपातिक सांसद पाउँदा दुर्गम क्षेत्र छुटेको छ । त्यसो त राजनीतिशास्त्रका जानकारहरू समानुपातिक प्रणालीले सिंगो देशलाई एक निर्वाचन क्षेत्र मान्ने भएकाले सबै भूगोल समेटिन नसक्नुलाई स्वाभाविकै मान्नुपर्ने बताउँछन् ।

आयोगले सार्वजनिक गरेको समानुपातिकतर्फ विजयी उम्मेदवारहरूको नागरिकता जारी भएको जिल्लालाई आधारमान्दा ४० जिल्लाबाट कम्तीमा पनि एक जनाको प्रतिनिधित्व भएको देखिन्छ । मधेस प्रदेशका आठवटै जिल्लाबाट समानुपातिकतर्फ प्रतिनिधित्व भएको छ । जिल्लागत रूपमा हेर्दा सबैभन्दा धेरै काठमाडौँ जिल्लाबाट विभिन्न दलका गरी १७ जना समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित भएको आयोगको तथ्यांकले देखाउँछ । 

यस्तै झापाबाट ६ जना, दाङ, धादिङ र मोरङबाट समान पाँच-पाँच जना, सुनसरी, सिरहा, धनुषा र कञ्चनपुरबाट चार-चार जना समानुपातिकमा परेका छन् । ताप्लेजुङ, महोत्तरी, काभ्रे, ललितपुर, भक्तपुर, बाग्लुङ, रूपन्देही र कैलालीबाट तीन-तीन र संखुवासभा, रौतहट, सप्तरी, चितवन, गोरखा, पूर्वीनवलपरासी बर्दघाट सुस्ता, बर्दिया, सुर्खेत, कालिकोट र डडेल्धुराबाट दुई-दुई जना समानुपातिक सांसद निर्वाचित भएका छन् । पाँचथर, सोलुखुम्बु, सर्लाही, बारा, पर्सा, मकवानपुर, नुवाकोट, दोलखा, तनहुँ, पाल्पा, स्याङ्जा, बाँके र अछामले एक-एक जना समानुपातिक सांसद पाएका छन् ।


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।