लगातारको मौसम बदलीसँगै बाजुरामा भारी वर्षा, उच्च लेकाली भेगमा हिमपात

चैत्र ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
लगातारको मौसम बदलीसँगै बाजुरामा भारी वर्षा, उच्च लेकाली भेगमा हिमपात

बाजुरा । लगातारको मौसम बदलीसँगै शुक्रबार बिहानबाट बाजुरामा वर्षा हुन थालेको छ ।

मौसममा आएको परिवर्तनपछि यहाँ बिहानदेखि निरन्तर वर्षा भइरहेको छ । वर्षाभएपछि आवतजावतमा समस्या भएको छ । वर्षासँगै यहाँका उच्च लेकाली भेगमा हिमपात सुरू भएको छ । मौसम विभागका अनुसार सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लामा भारी वर्षा र हिमपातको सम्भावना छ ।

हिमपात भएपछि यहाँका बडीमालिका, बुढीगंगा त्रिवेणी, बुढीनन्दा नगरपालिका, हिमाली, खप्तड छेडेदह, गौमुल, स्वामीकार्तिक, जगन्नाथ गाउँपालिकाका लेकाली क्षेत्र र गाउँहरूमा हिमपात भएको छ । हिमपातका कारण हिमालीको विच्छ्या, रूगिन, बाँधु, गौमुलको अम्लिस, दहकोट, बुढीनन्दाको कुरू,पाण्डुसैन, खप्तड छेडेदहलगायतका स्थानीयहरू बढी प्रभावित बनेका छन् ।

हिमपात भएपछि डाँडाहरू सेताम्ये भएका छन् । वर्षापछि हिमपातले स्थानीयहरू प्रभावित बनेका छन् । बाक्लो हिमपात भएपछि यहाँका बडीमालिका, पोरखेलेक, कालाजग्रा, बुढीनन्दा, रानीसैन लगायतका अग्ला डाँडाहरू सेताम्ये बनेका छन् ।

हिमाली तथा पहाडी जिल्लाका रूपमा रहेको यहाँका लेकाली भेगमा हिमपात र भारी वर्षा भइरहेको जिल्ला निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले जानकारी दिनु भएको छ । उहाँले दिएको जानकारीअनुसार जिल्लामा भारी वर्षा भइरहेकाले बाढी र पहिरो जाने सम्भावना भएको हुँदा उच्च सतर्कता अपनाउन सर्वसधारणलाई आग्रह गरिएको बताउनु भएको छ ।

मौसम विभागले वर्षासँगै हावाहुरीको सम्भावना भने पनि जिल्लामा हावाहुरी नभएको र कुनै क्षतिको विषयमा जानकारी नआएको निमित्त प्रमुख जिल्ला अधिकारी पुडासैनीले बताउनु भयो । लगातार वर्षाभएपछि चैतमा लगाउने धान बालीका लागि राहत भएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

गहुँको बाली पसाउने,ओसर, स्याउ लगायतका फलफुल पलाउने बेलामा वर्षा हुनु कृषकका लागि उयपुक्त भएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसीराम सहानीले बताउनु भएको छ । लगाएको गहुँ अन्नबालीको बाला लाग्ने बेला र फलफूलका बिरूवा फुल्ने बेलामा आएको वर्षाले राहत प्रर्याप्त भएको कृषि ज्ञान केन्द्रका प्रमुख सहानीको भनाइ रहेको छ ।

शुक्रबार बिहानबाट निरन्तर वर्षा भएपछि जिल्लामा चिसो बढेको छ । चिसोका कारण बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी बढी प्रभावित बनेका छन् । चिसो बढेकाले न्यायो कपडा र घरबाहिर ननिस्कन स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.