खुल्यो सरकार गठनको बाटो, रास्वपा नेतृत्व छलफलमा

सांसदहरूको सपथ चैत १२ मा, १६ गते संसद्को अधिवेशन बोलाउने तयारी
चैत्र ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
खुल्यो सरकार गठनको बाटो, रास्वपा नेतृत्व छलफलमा

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई चुनावी परिणामको प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ। आजै बसेको सर्वदलीय बैठकको परामर्शपछि संसद् सचिवालयले चैत १२ गते बिहीबार नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको सपथ ग्रहणको तालिका अघि बढाएको छ ।

१२ गते दिउँसो सांसदहरुको शपथ गराउने तय भएको संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयो । संसद् सचिवालयले ६ वटा दललाई संसदीय दलको कार्यालय व्यवस्थापनबारे पनि छलफल गरेको थियो ।

यस्तै संसद् सचिवालयले चैत १६ गते संसद्‌को पहिलो बैठक बोलाउने गरी गृहकार्य पनि अघि बढाएको छ । आयोगको प्रतिवेदन पाए लगत्तै शपथ ग्रहणका लागि ज्येष्ठ सदस्य चयन हुने सचिवालयले जनाएको छ ।

यता निर्वाचनमा झन्डै दुईतिहाइ जनमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ सरकार गठनका लागि गृहकार्य अघि बढाएको छ । नयाँ सरकारको स्वरूप र मन्त्रीहरूबारे रास्वपा सभापति रवि लामिछाने र प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाह लगायतका नेताहरूले छलफल गरिरहेका छन् । 

उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले पनि सहभागी रहेको छलफलमा अब बन्ने सरकारको खाकाबारे गृहकार्य थालिएको रास्वपाले जनाएको छ ।

सरकारमा पठाउने मन्त्रीहरूको नामबारे लामिछाने, शाहलगायतका नेताबीच दुई दिनयता बाक्लो छलफल भइरहेको छ । तर अहिलेसम्म सरकारमा पठाउने मन्त्रीहरूको नाम भने टुंगो लागिनसकेको रास्वपाका नेताहरूले जनाएका छन् ।

रास्वपा स्रोतका अनुसार अबको ८-१० दिनभित्र सरकार गठन हुनेछ। जनमतअनुसार नयाँ सरकार रास्वपाको नेतृत्वमै एकल बहुमतको हुनेछ । संविधानको धारा ७६ को उपधारा १ मा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने उल्लेख छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.