आजदेखि तीन दिन अत्यधिक वर्षा र हुन्डरीको जोखिम

चैत्र ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
आजदेखि तीन दिन अत्यधिक वर्षा र हुन्डरीको जोखिम

काठमाडौँ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तीन दिन देशका विभिन्न भागमा भारी वर्षा, हिमपात र ठूलो हावाहुरीको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ । प्राधिकरणले आजदेखि तीन दिनसम्म बालीनाली नकाट्नसमेत आग्रह गरेको छ । 

जल तथा मौसम विज्ञान विभागले दिएको विवरणका आधारमा प्राधिकरणले आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा भारी वर्षा र हिमपातको सम्भावना भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । आजदेखि नै लुम्बिनी प्रदेशका बाँके, दाङसहितका तराईका जिल्लामा हावाहुरीको जोखिम छ । शनिबार कोशी प्रदेशको तराई क्षेत्रमा ठूलो हुरी चल्नसक्ने जोखिम भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रि-मनसुन अवधि भएकाले हावाहुरीले रुख ढाल्ने, कमजोर संरचना र छाना उडाउने तथा विद्युत् र सञ्चार सेवा प्रभावित पार्नसक्ने जोखिम रहेको प्राधिकरणले जनाएको छ । पछिल्ला दिनहरूमा हावाहुरीका कारण मानवीय क्षति समेत भएकाले थप सचेतना आवश्यक रहेको सूचनामा उल्लेख छ ।

प्राधिकरणले जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम पूर्वानुमान र प्राधिकरणका आधिकारिक सूचनाहरू नियमित रूपमा पछ्याउन समेत सबैमा अनुरोध गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.