
काठमाडौँ । नयाँ प्रतिनिधिसभामा महिलाको प्रतिनिधित्व ३५ प्रतिशत पुगेको छ । निर्वाचन आायेगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा यसपटक ९६ जना महिला सदस्यहरू प्रवेश गरेका छन् ।
यो संख्या नेपालको संसदीय इतिहासमा एक महत्त्वपूर्ण उपलब्धि भएको र कुल सदस्य संख्याको करिब ३५ प्रतिशत महिला सहभागिता सुनिश्चित हुनुले संवैधानिक व्यवस्थाको सफल कार्यान्वयनलाई झल्काएको उहाँले बताउनुभयो ।
आयोगका अनुसार समावेशी क्लस्टरमा नयाँ संसद्मा खस आर्य समूहको प्रतिनिधित्व सबैभन्दा बढी ४९.०९ प्रतिशत रहेको छ । त्यसपछि आदिवासी जनजाति समूहको २१.०९ प्रतिशत, मधेसी समूहको १६.७३ प्रतिशत, दलित समूहको ६.१८ प्रतिशत, थारू समूहको ३.२७ प्रतिशत र मुस्लिम समूहको ३.६४ प्रतिशत प्रतिनिधित्व रहेको छ ।
यो विविधताले नेपालको बहुजातीय र बहुभाषिक पहिचानलाई संसद्को नीति निर्माण तहमा बलियोसँग स्थापित गरेको प्रवक्ता भट्टराईले बताउनुभयो ।