एमाले सचिवालय बैठक : समानुपातिकतर्फ १६ जनाको नाम सिफारिस

फाल्गुन ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
एमाले सचिवालय बैठक : समानुपातिकतर्फ १६ जनाको नाम सिफारिस

काठमाडौं । नेकपा (एमाले)ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक पर्नुभएकाे कारण उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले समानुपातिक उम्मेदवारको टुंगो लगाउनुका साथै विभिन्न शोक प्रस्तावहरू पारित गरेको हो । 

पार्टी उपमहासचिव लेखराज भट्टले बैठकका निर्णयहरू सार्वजनिक गर्नुहुँदै क्लस्टरका आधारमा १६ जनाको नाम निर्वाचन आयोगमा पठाउने निर्णय भएको जानकारी दिनुभयो । आदिवासी जनजातितर्फ भुमिका सुब्बा (महिला), गंगादेवी श्रेष्ठ (महिला), रामबहादुर थापा मगर (पुरुष) र कुलभक्त शाक्य (पुरुष) हुनुहुन्छ । 

त्यस्तै खस आर्यतर्फ पद्मा अर्याल (महिला), टुकाभद्रा हमाल (महिला), गुरूप्रसाद बराल (पुरुष), पुष्पराज कँडेल (पुरुष) र यशोदा कुमारी बराल (पिछडिएको क्षेत्र, अपाङ्गता तथा महिला क्लस्टरसमेत) रहनुभएको छ । थारूतर्फ कृपाराम राणा हुनुहुन्छ भने दलिततर्फ विष्णुमाया विक र नीता घतानी हुनुहुन्छ । 

त्यस्तै मधेसीतर्फ रिंगला यादव, यशोदा कुमारी र चन्द्रेश्वर मण्डल (पुरुष) हुनुहुन्छ । मुस्लिमतर्फ साजिदा सिद्धिकी रहनुभएको उपमहासचिव भट्टले बताउनु भयो । बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीका ९७ वर्षीय बुवाको शुक्रबार बिहान भएको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । 

बैठकले अध्यक्ष ओली र शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । त्यसैगरी, फागुन २८ गते पार्टीको समीक्षा बैठककै क्रममा हृदयघात भई निधन भएका केन्द्रीय सदस्य तथा कास्की संयोजक कृष्ण थापा र पार्टी प्रचारकै सिलसिलामा हृदयघातबाट ज्यान गुमाएका पूर्वकेन्द्रीय सदस्य तथा जनसांस्कृतिक महासंघका पूर्वअध्यक्ष खगेन्द्र राईको निधनप्रति पनि बैठकले शोक तथा श्रद्धाञ्जलि व्यक्त गरेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.