प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुबैमा रास्वपाको वर्चस्व

रास्वपाले १ सय २४ स्थानमा जित्दा कांग्रेस १७, एमाले ८ र नेकपा ७ सिटमा सीमित
फाल्गुन २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुबैमा रास्वपाको वर्चस्व

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशका १ सय ६१ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अत्याधिक स्थानमा जित हात पारेको छ । ४ स्थानको नतिजा आउन बाँकी रहँदा रास्वपा १ सय २४ स्थानमा विजयी भएको छ भने एक स्थानमा अग्रता लिइरहेको छ ।

यस्तै प्रत्यक्षतर्फ दोस्रो ठूलो पार्टी नेपाली कांग्रेस बन्ने देखिएको छ । कांग्रेसले १७ स्थानमा जित हात पारेको छ भने थप २ स्थानमा उसको अग्रता छ । तेस्रो स्थानमा भने नेकपा एमाले रहेको छ । एमालेले ८ स्थानमा जित हात पार्दा १ स्थानमा अग्रता बनाएको छ ।

विभिन्न वामपन्थी दलहरू मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले भने ७ स्थानमा मात्र जित हात पारेको छ । हालसम्मको मतपरिणामले नेपालमा वाम राजनीतिलाई ठूलो संकट परेको देखिएको छ । यता पहिचानको मुद्दालाई सुषुप्त रूपमा बोकेको श्रम संस्कृति पार्टीले भने ३ स्थानमा जित हात पारेको छ । जेन-जी आन्दोलनपछि गठित यो दलले छोटो समयमै संसदीय राजनीतिमा आफूलाई उभ्याउन सफल भएको छ । यस्तै राजतन्त्रको समर्थन गर्ने दल राप्रपाले भने जम्मा १ सिट जितेको छ । देशभर स्वतन्त्र पार्टीको लहर आउँदा एक जना उम्मेदवार भने स्वतन्त्रबाटै विजयी भएका छन् ।

गए राति विभिन्न स्थानका नतिजा सार्वजनिक भए । गोरखा २ मा रास्वपाका कविन्द्र बुर्लाकोटी २६ हजार ६ सय ६० मत ल्याएर निर्वाचित हुनुभयो । उहाँले नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडीलाई १४ हजार ९ सय ६० मतान्तरले पराजित गर्नुभयो । यस्तै रास्वपाकै विक्रम तिमिल्सिनाले नुवाकोट १ मा विजय हासिल गर्नुभयो । उहाँले नेपाली कांग्रेसका प्रकाशशरण महतलाई ४ हजार १२ मतान्तरले पराजित गर्नुभयो । यस्तै सुनसरी ४ मा रास्वपाका दीपककुमार साह ४२ हजार ७ सय ७१ मत ल्याएर निर्वाचित हुनुभयो । उहाँले कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीलाई २६ हजार १ सय ८४ मतान्तरले पराजित गर्नुभयो ।

यस्तै राति नै अछाम २ मा नेकपा एमालेका यज्ञबहादुर बोगटी निर्वाचित हुनुभयो । बोगटीले ९ हजार ५ सय १८ मत प्राप्त गर्नुभयो । उहाँले कांग्रेसका पुष्प शाहलाई ४ सय ७२ मतान्तरले पराजित गर्नुभयो ।

अब प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत चार स्थानका नतिजा मात्र आउन बाँकी छ । गोरखा १ मा रास्वपाका सुधन गुरुङ अग्र स्थानमा हुनुहुन्छ । यस्तै इलाम १ मा नेपाली कांग्रेसका निश्कल राई र धनुषा १ मा कांग्रेसकै रामपल्टन साह अग्र स्थानमा हुनुहुन्छ । संखुवासभामा भने एमालेका अर्जुनकुमार कार्की अगाडि हुनुहुन्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.