
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको तातोपानी नाका हरेक चुनावमा सबै दलका घोषणापत्रमा अनिवार्य एजेण्डा बन्छ । उम्मेदवारहरू घरदैलोमा पुगेर नाकालाई पहिलेजस्तै चलायमान बनाउने, सडक स्तरोन्नति गर्ने, पुल निर्माण गर्ने र सीमाबासीलाई रोजगारी दिने कसम खान्छन् । तर चुनाव जितेपछि सडक र नाकाको विकाराल अवस्था बिर्सिन्छन् । दुई दशकदेखि समाधान हुन नसकेको सडक समस्या यो चुनावपछि पनि उस्तै रहने भोटेकोशी -५ फुल्पिङकट्टी, सिन्धुपाल्चोकका स्थानीय सुनिल लामाको भनाइ छ ।
राज्यको अर्थतन्त्रमा ठूलो राजस्व योगदान दिन सक्ने नाका पूर्ण क्षमतामा सञ्चालन नहुँदा स्थानीय रोजगारी गुमेको छ । युवा पलायन समेत बढेको छ । भौगोलिक रूपमा विकट भोटेकोशी र बाह्रबिसे क्षेत्रका बासिन्दाका लागि तातोपानी नाका रोजीरोटीको मुख्य आधार हो । झन्डै ३५ हजारभन्दा बढी सिमाबासी नाकामै आश्रित छन् । सडक र पुल नबन्द सीमावासीको जीविकोपार्जन अझै संकटमै रहेको स्थानीय बताँउछन् ।
चीनसँग जोडिएको तातोपानी नाका र कोदारी राजमार्ग संघीय सरकारको मातहतमा रहेकाले अपेक्षित सुधार हुन नसकेको भन्दै यसक्षेत्रका उम्मेदवारहरूले यसपटक व्यवस्थित नाका सञ्चालनलाई आफ्नो मूल चुनावी एजेन्डा बनाएका छन् । उम्मेदवारहरूले सडक स्तरोन्नति, पुल मर्मत तथा विस्तार, र नाका नियमित सञ्चालनलाई प्राथमिकतामा राख्दै दिगो योजना अघि सार्ने उनीहरूको दाबी छ ।
यसपटक पनि चुनाव नजिकिँदै गर्दा तातोपानी नाका र सडक स्तरोन्नतिको विषय पुनः उठाइएको छ। तर विगतका अनुभवका आधारमा सीमाबासी भने सशंकित छन्यो । चुनावपछि पनि सडक समस्या उस्तै रहने त होइन भन्ने प्रश्न उनीहरुले उठाइरहेका छन् ।
दुई दशकदेखि चुनावको वेला दोहोरिँदै आएको वाचा र बेवास्ताबीच तातोपानी क्षेत्रका मतदाता अब आवश्वसन होइन, ठोस कार्यान्वयनको परिणाम खोजिरहेका छन्।