
काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब अपराजित रहँदै प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता २०२६ को च्याम्पियन बनेको छ ।
शुक्रबार सम्पन्न फाइनल खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गर्यो । हालसम्मका सबै ८ संस्करणको फाइनल खेलेको आर्मीको यो तेस्रो उपाधि हो । २०१७ को पहिलो संस्करणमा नेपाल पुलिस क्लबसँग ट्रफी साझा गरेको आर्मी २०२१ मा च्याम्पियन बनेको थियो ।
पहिलो पटक विभाव बाहिरको टिमको रुपमा पीएम कपको फाइनल खेलेको सूदुर भने उपविजेतामा सीमित भयो । वीरगञ्जको नारायणी क्रिकेट मैदानमा टस जितेर व्याटिङ गर्ने निर्णय सुदूरका लागि सहि सावित हुन सकेन । सुदूरपश्चिमले ३९ ओभर ४ बलमा सबै विकेट गुमाएर मात्र १ सय ६१ रन मात्र बनाउन सक्यो ।
शीर्ष क्रमका ५ ब्याटरले दोहोरो अंकमा रन बनाउन नसकेपछि सुदूरपश्चिमका लागि पुरै इनिङ्स संघर्षमय बनेको थियो । खड्ग बोहरा र नरेन भट्ट समान १- १ रन, राजु रिजाल र दीपक बोहरा ७-७ रन र अभिषेक पाल ९ रनमा आउट भएका थिए । ३१ रन जोड्दा ५ विकेट गुमामाएको सुदूरपश्चिम निकै दबाबमा परेको थियो ।
किरण ठगुन्ना र नारायण जोशीले छैटौं विकेटको लागि ६२ रनको साझेदारी गरे । नारायण २९ रनमा आउट भए । किरण ठगुन्नाले ३५ रन बनाए । अशोक धामीले सर्वाधिक ४३ रन जोडे । हेमन्त धामीले १६ रनको योगदान दिए । आर्मीका आकाश चन्द र साहब आलमले समान ३-३ विकेट लिए । बसिर अहमदको नाममा २ विकेट रह्यो ।
१ सय ६२ रनको लक्ष्य आर्मीले ३३ ओभर ३ बलमा ५ विकेट गुमाउँदै पूरा गर्यो । खराब सुरुवात गरेको आर्मीले ५६ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो । कप्तान विनोद भण्डारी २ र भीम सार्की सार्की ४ रनमा आउट भएका थिए । कुशल मल्ल १७, र त्रितराज दाशले ३१ रन बनाए ।
इमरान शेख र बसिर अहमदले ९६ रनको महत्वपूर्ण साझेदारी गरे । बसिरले ५६ बलमा ४ चौकासहित ४५ रन जोडे । इमरान ४६ रनमा नाटाउट रहे । अर्जुन साउद पनि ७ रनमा अविजित रहे । सुदूरपश्चिमका हेमन्त धामीले २ विकेट लिए ।
लुम्बिनी प्रदेशका सन्तोष यादव प्लेयर अफ दि टुर्नामेन्ट घोषित भए । उदीयमान खेलाडी मधेश प्रदेशका आशिक बैठा चयन हुँदा सुदूरपश्चिमका हेमन्त धामी उत्कृष्ट बलर र गण्डकीका अर्जुन कुमाल उत्कृष्ट ब्याटर घोषित भए ।