दिपेन्द्र टी-२० कप्तान, रोहित ओडीआईमा सीमित

वैशाख ४, २०८३ |सुवास रोकाया
दिपेन्द्र टी-२० कप्तान, रोहित ओडीआईमा सीमित

काठमाडौं । नेपाल क्रिकेट संघ-क्यानले टी-२० आई क्रिकेटका लागि दिपेन्द्रसिंह ऐरीलाई कप्तान नियुक्त गरेको छ । 

आईसीसी विश्वकप लिग टू अन्तर्गत ओमान र यूएईविरुद्धको त्रिकोणात्मक सिरिज र त्यसअघि खेलिने यूएईविरुद्धका २ खेलको टी-२० आई सिरिजका लागि दुई फरक टोली घोषणा गरिएको छ । शुक्रबार सावर्जनिक गरिएको तालिकाअनुसार ऐरीले यूएईविरुद्धको सिरिजमार्फत टी-२० आई टिमको कप्तानी समहाल्ने छन् । 

रोहित पौडेललाई एकदिवसीय अन्तर्राष्ट्रिय टिमको कप्तानमा सीमित गरिएको छ । क्यानले आगामी घरेलु सिरिजदेखि नयाँ रणनीति अपनाउँदै फरक-फरक फर्म्याटका लागि अलग-अलग कप्तान नियुक्त गरेको छ। क्यानकाअनुसार, अब विश्व नम्बर ४ टी-२० आई अलराउन्डर दिपेन्द्रसिंह ऐरीले टी-२० आई क्रिकेटमा नेपाली टिमको नेतृत्व गर्ने छन् । 

उनले यूएईविरुद्धको टी-२० आई सिरिजमार्फत कार्यभार सम्हाल्ने छन् । रोहितले लिग २ सिरिजमा नेपालको कप्तानी गर्ने छन् । कप्तानको रुपमा उनको जिम्मेवारी ओडीआई क्रिकेटमा सीमित गरिएको हो । टी- २० विश्वकप खेल्ने टोलीमा नरहेका कुशल मल्ल, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी र साहब आलम १५ सदस्य टी-२० आई टोलीमा अटाएका छन् भने विश्वकप टोलीबाट तत्कालिन कप्तान रोहित, सोमपाल कामी, करण केसी, ललित राजवंशी र आसिफ शेख टी-२० आई सिरिजमा सहभागी हुने छैनन् । 

यद्दपि यी खेलाडी लिग टू सिरिज खेल्ने टिममा भने अटाएका छन् । प्रतिस जिसी, नारायण जोशी र रासिद खान टी-२० टिमको रिजर्व खेलाडीका रुपमा रहेका छन् । एक दिवसीय टिममा युवा ब्याटर अर्जुन कुमालले पहिलो पटक स्थान बनाएका छन् । 

घरेलु क्रिकेटदेखि उमेर समूहमा सानदार प्रदर्शन गर्दै आए पनि अर्जुन राष्ट्रिय टोलीमा भने अटाउन सकेका थिएनन् । जारी पीएम कपमा ५ सय ४ रन बनाउँदै प्रतियोगिताकै इतिहासमा एकै सिजन ५ सय रन पूरा गर्ने खेलाडीको कीर्तिमान कायम गरेका अर्जुनले ब्याटबाटै जवाफ दिँदै राष्ट्रिय टिमको ढोका खोलेका हुन् ।

यस्तै विनोद भण्डारीले पनि टिममा पुनरागमन गरेका छन् । पीएम कपमा उत्कृष्ट ब्याटिङ गरेपछि विनोद तीन वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका हुन् । बसिर अहमदले पनि एकदिवसीय टिममा पुनरागमन गरेका छन् । यसअघि यूएईमा सम्पन्न लिग २ सिरिजमा सहभागी अनिल साह, कुशल मल्ल र साहब आलमले यस पटक ओडीआई टिममा स्थान बनाउन सकेनन् । 

लिग २ का लागि हेमन्त धामी, शेर मल्ल, रिजन ढकाल, इशन पाण्डे र देव खनाललाई रिजर्व राखिएको छ । हेमन्त धामी पीएम कपका सर्वाधिक विकेट लिने बलर हुन् । दिपेन्द्र सिंह ऐरी, कुसल भुर्तेल, आरिफ शेख, बसिर अहमद, गुलशन झा, सन्दीप लामिछाने र नन्दन यादवले टी-२० र ओडीआई दुवै टिममा स्थान बनाएका छन् भने कुशाल मल्ल, सन्दीप जोरा, लोकेश बम, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, शाहब आलम र शेर मल्लले टी-२० आई टिममा मात्र स्थान बनाएका छन् । तर, पनि हेमन्त र सेर लिग २ टोलमा रिजर्व खेलाडीको रुपमा रहेका छन् ।

लिग २ सिरिजमा मात्र अटाएका खेलाडीमा रोहित पौडेल, आसिफ शेख, भीम सार्की, सोमपाल कामी, ललित राजवंशी, विनोद भण्डारी, अर्जुन कुमाल र करण केसी रहेका छन् । नेपाल र यूएईबीच वैशाख ६ र ७ गते टीयू मैदानमा दुई खेलको टी-२० सिरिज हुनेछ । 

यससँगै नेपालमा पहिलो पटक फ्लडलाइटमा पहिलो पटक अन्तर्राष्ट्रिय खेल हुनेछ । त्यसपछि लिग-२ अन्तर्गत नेपाल, ओमान र यूएईबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज वैशाख १२ देखि २२ सम्म तथा नेपाल, स्कटल्यान्ड र अमेरिका अर्को सिरिज वैशाख २९ देखि जेठ ८ सम्म आयोजना हुँदैछ । 

लिग टू सिरिजका पनि सबै खेल टीयू मैदानमै खेलिने छन् । आईसीसी विश्वकप लिग २ अंक तालिकाको सातौं स्थानमा रहेको नेपालको २० खेलमा १२ अंक छ ।


Image

सुवास रोकाया

रोकाया कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।