इरानको विश्वकप सहभागितामा अन्योल, फिफा भन्छ- खेल सुनिश्चित

वैशाख ४, २०८३ |सुवास रोकाया
इरानको विश्वकप सहभागितामा अन्योल, फिफा भन्छ- खेल सुनिश्चित

काठमाडौं । फिफा विश्वकप २०२६ सुरु हुन अब दुई महिना पनि छैन । 

तर, अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त आयोजना गर्ने यो प्रतियोगितामा इरानको सहभागितालाई लिएर भने ठूलो अन्योल छ । यही अन्योलबीच फिफा अध्यक्ष जियानी इन्फान्टिनोले भने इरान विश्वकपमा सहभागी हुनेमा निश्चिन्त रहेको बताउनुभएको छ । तर, इरानको तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन ।

सन् २०२२ को कतार विश्वकप । अमेरिका र इरानबीचको खेलअघि इरानी पत्रकारले अमेरिकी कप्तान टायलर एडम्सलाई एउटा प्रश्न सोध्छन्- 'के तपाईं अश्वेत नागरिकमाथि विभेद गर्ने देशको प्रतिनिधित्व गर्न सहज हुनुहुन्छ?'

यो केवल प्रिम्याच कन्फरेन्सको एउटा प्रश्न मात्र थिएन । त्यतिबेला ठूलै विवाद निम्त्याएको यो प्रश्नले इरान र अमेरिकाबीचको तिक्ततापूर्ण सम्बन्धलाई झल्काएको थियो । सोही कन्फरेन्समा 'इरान' शब्दको उच्चारण सच्याएको घटनाले दुई देशबीचको मनमुटावलाई सतहमा ल्याएको थियो ।

अब सन् २०२६ को विश्वकप केवल ५६ दिन मात्र टाढा छ । र, एउटा संस्करणबाट अर्कोमा आइसक्दा पनि इरान-अमेरिकाबीचको सम्बन्ध झन् झन् खराब भइरहेको छ । दुवै युद्धमा छन् । विश्वकपमा एसियाको प्रतिनिधित्व गर्ने इरानको सहभागिता अझै निश्चित छैन ।

सन् २०२६ को फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि विश्वकपको माहोल एकाएक बदलिएको हो । मार्च ११ मा इरानले विश्वकप बहिष्कार गर्ने घोषणा नै गरेको थियो । तर, यही अन्योलका बीच फिफा अध्यक्ष जियानी इन्फान्टिनोले भने इरानको सहभागितालाई लिएर निश्चिन्तता व्यक्त गर्नुभएको छ । 

हालै टर्कीको अन्ताल्यामा इरानी खेलाडीहरूलाई भेटेपछि इन्फान्टिनोले उनीहरू विश्वकप खेल्न अत्यन्तै उत्सुक रहेको बताउनुभएको हो । उहाँले खेलकुदलाई राजनीतिभन्दा बाहिर राख्नुपर्नेमा पनि जोड दिनुभयो । यता इरानको फुटबल महासंघले भने आफ्ना खेलाडी र प्रशंसकहरूको सुरक्षालाई लिएर गम्भीर चिन्ता व्यक्त गरेको छ । 

महासंघका अध्यक्ष मेहदी ताजले पनि अमेरिकाले सुरक्षा प्रत्याभूति दिन नसकेमा आफूहरू सहभागी नहुने घोषणा गर्नुभएको छ । सुरक्षाको सर्त उब्जेको चाहिँ अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले इरानी टोलीको 'जीवन र सुरक्षा' को लागि अमेरिका आउनु 'उचित नभएको' टिप्पणी गरेपछि हो । 

ट्रम्पको टिप्पणीपछि इरानले आफ्ना 'समूह-जी' का खेलहरू अमेरिकाको सट्टा मेक्सिकोमा सार्न फिफासँग प्रस्ताव गरेको थियो । मेक्सिकन राष्ट्रपति क्लाउडिया सेनबाउमले पनि यसका लागि आफू तयार रहेको संकेत दिनुभएको थियो । तर, फिफा अध्यक्ष इन्फान्टिनोले भने खेलहरू तोकिएकै स्थानमा हुने बताउनुभएको छ । 

उहाँले मेक्सिकोमा खेल सार्ने प्रस्तावलाई प्राविधिक र व्यवस्थापकीय कारणले सम्भव नहुने प्रस्ट पार्नुभएको छ । तालिकाअनुसार इरानले आफ्ना खेलहरू लस एन्जलसको सोफी स्टेडियम र सिएटलको लुमेन फिल्डमा बेल्जियम, न्युजिल्यान्ड र इजिप्टसँग खेल्नुपर्नेछ । इरानी टोलीले अमेरिकाको टक्सन, एरिजोनामा आफ्नो प्रशिक्षण क्याम्प राख्ने योजना बनाएको छ ।

यद्यपि, इरानी नागरिकहरूका लागि लगाइएको यात्रा प्रतिबन्धले गर्दा उनीहरू रंगशाला पुग्न भने पाउने छैनन् । खेलाडी र प्रशिक्षकहरूलाई भने छुट दिइएको छ । अहिले 'इस्लामाबाद टक' मार्फत अमेरिका र इरानबीच शान्ति वार्ताको प्रयास भइरहेको छ । तर, सबैको मनमा एउटै प्रश्न छ- के खेल कूटनीतिले यी दुई राष्ट्रबीचको सम्बन्धमा सुधार ल्याउन सक्ला ?


Image

सुवास रोकाया

रोकाया कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।