शनिबार कान्तिपुर हाफ म्याराथन, ४ हजार धावकको सहभागिता

वैशाख ४, २०८३ |अभय बस्नेत
शनिबार कान्तिपुर हाफ म्याराथन, ४ हजार धावकको सहभागिता

काठमाडौं । काठमाडौंको तिनकुनेमा शनिबार कान्तिपुर हाफ म्याराथनको १४औं संस्करण आयोजना हुँदैछ । 

‘रन फर नेपाल’ भन्ने मुख्य नाराका साथ आयोजित यस प्रतियोगिताको तयारी पूरा भएको छ । कान्तिपुर मिडिया ग्रुपको आयोजनामा हुने यस प्रतियोगितामा यसपटक कीर्तिमानी ४ हजार धावकहरूले प्रतिस्पर्धा गर्दैछन् । यस प्रतियोगिताले नेपालमा बढ्दो ‘रनिङ कल्चर’ लाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।

म्याराथनको १४ वर्षको इतिहासमा यो अहिलेसम्मकै ठूलो सहभागिता हो । प्रतियोगितालाई थप निष्पक्ष र प्रविधिमैत्री बनाउन पहिलो पटक २१ दशमलव १ किलोमिटरको मुख्य विधा हाफ म्याराथनमा ‘चिप टाइमिङ’ प्रविधिको प्रयोग गरिँदैछ । तिनकुनेस्थित कान्तिपुर कार्यालयबाट सुरु हुने यो दौड भक्तपुरको जगाती पुगेर पुनः तिनकुनेमै आएर समापन हुनेछ । 

दौडको व्यवस्थापन र बढ्दो क्रेजलाई अन्तर्राष्ट्रिय अनुभव बटुलेका धावकहरूले पनि प्रशंसा गरेका छन्। प्रतियोगितामा राष्ट्रिय कीर्तिमानधारी धावकहरूको कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ । हाफ म्याराथनमा गत वर्ष खड्कबहादुर खड्काले पुरुषतर्फ र सन्तोषी श्रेष्ठले महिलातर्फको उपाधि जितेका थिए । 

हालसम्म पुरुषतर्फ हरिकुमार रिमाल र महिलातर्फ कान्छीमाया कोजुको नाममा कोर्स रेकर्ड रहेको छ । शनिबारको प्रतिस्पर्धाका लागि धावकहरू निकै उत्साहित छन् । हाफ म्याराथनका विजेता पुरुष र महिला दुवैले जनही १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

त्यस्तै, कलेज रनका विजेताहरूका लागि एक्सट्रिम इनर्जी ड्रिंककोतर्फबाट भारतमा हुने आईपीएलको फाइनल खेल प्रत्यक्ष हेर्न जाने पूर्ण प्रायोजित प्याकेजको व्यवस्था गरिएको छ । हाफ म्याराथनमा छैटौं स्थानसम्म आउने धावकहरूले नगद पुरस्कार पाउनेछन् भने ह्विलचेयर दौडका विजेताले ३५ हजार, उपविजेताले २५ हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ पाउनेछन् । 

कीर्तिमान तोड्ने धावकका लागि थप २५ हजार रुपैयाँ पुरस्कारको समेत व्यवस्था गरिएको छ । कर्पोरेट एन्ड इन्फ्लुन्सर तथा कलेज रनतर्फ शीर्ष तीन स्थानका महिला र पुरुष विजेताले विभिन्न पुरस्कार र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।

प्रतियोगिताको मुख्य प्रायोजक ग्लोबल आइएमई बैंक रहेको छ । प्रतियोगीताको प्राविधिक पाटो नेपाल एथ्लेटिक्स संघले सम्हालनेछ । शनिबार बिहान ६ बजेदेखि सुरु हुने यो दौडमा सुरक्षाका लागि ट्राफिक प्रहरीसँग समन्वय गरिएको आयोजकले जनाएको छ ।


Image

अभय बस्नेत

बस्नेत कान्तिपुर टेलिभिजनकाे स्पाेर्ट्स ब्युराेमा कार्यरत छन् ।