
काठमाडौं । नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निर्वाचन बिथोल्न लागेको आरोप लगाएको छ ।
शनिबार पार्टी कार्यलयमा पत्रकार सम्मलेन गरी एमालेले निर्वाचनमा जित हासिल गर्न सक्ने भएपछि रास्वपा बिथोल्न तिर लागेको आरोप लगाएको हो । एमालेको निर्वाचन प्रचार समितिका संयोजक मिनबहादुर शाहीले निर्वाचन बिथोल्नको लागि रास्वपाले एमालेको झन्डा, प्रचार सामाग्री जलाउने तथा घृणा फैलाउने गतिविधिमा संलग्न भएको आरोप लगाउनु भयो ।
उहाँले निर्वाचन नजिकिँदै जाँदा मुलुकमा भय र त्रासको वातावरण बढ्दै गएको बताउनु भयो । उहाँले शान्ति-सुरक्षाको प्रत्याभूति दिन सरकार असफल भएको आरोप लगाउनु भयो । शाहीकाअनुसार देशभर एमालेको आस्थाको केन्द्र ‘सूर्य’ चिन्ह अंकित झन्डा जलाउने, पार्टी नेतृत्वविरूद्ध घृणा फैलाउने र समुदायबीच द्वन्द्व सिर्जना गर्ने गतिविधि तिव्र बनेका छन् ।
उहाँले यस्ता कार्यलाई चुनावी द्वन्द्वतर्फ देशलाई धकेल्ने गम्भीर षड्यन्त्र भएको बताउनु भयो । शान्ति-सुरक्षाको विषयलाई विश्वसनीय बनाउन उहाँले सरकारसँग माग गर्नुभयो । उहाँले आगामी फागुन २१ गते हुने निर्वाचनलाई एमालेले ‘देश बनाउने र जलाउने बीचको जनमत संग्रहका रूपमा लिएको उल्लेख गर्दै कथित ‘भोट फर चेन्ज’ को भाष्य कमजोर भएपछि अभद्र व्यवहार, फेक सर्वेक्षण सार्वजनिक गर्ने र मतदातालाई प्रभाव पार्ने प्रयास भएको आरोप लगाउनु भयो ।
एमालेले स्वच्छ, निष्पक्ष र भयरहित मतदानको वातावरण बनाउन सरकारसँग माग गरेको छ । आम मतदाताको निर्भिक रूपमा मतदान केन्द्रसम्म पुग्ने नैसर्गिक अधिकार संरक्षण गर्ने दायित्व सरकारको भएको एमालेको भनाइ छ । आचारसंहिता उल्लङ्घनका घटनामा निर्वाचन आयोग उदासीन देखिएको पनि एमालेको आरोप छ ।