सभामुख पदका लागि आज उम्मेदवारी दर्ता, पर्सि निर्वाचन

चैत्र २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
सभामुख पदका लागि आज उम्मेदवारी दर्ता, पर्सि निर्वाचन

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुने भएको छ । संघीय संसद् सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । साढे २ बजे दर्ता क्रमअनुसार उम्मेदवारको सूची प्रकाशित गर्ने तालिका छ ।

सभामुख चयनका लागि निर्वाचन चैत २२ गते आइतबार हुनेछ । प्रतिनिधिसभाको ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले सभामुख पदमा आफ्ना उपसभापति डोलप्रसाद अर्याललाई अघि सार्ने निर्णय गरेको छ । प्रतिनिधिसभामा १ सय ८२ सिट भएको रास्वपाका उम्मेदवार नै सभामुख चयन हुने निश्चित छ ।

सभामुख चयन नभइसकेको हुँदा अहिले प्रतिनिधिसभा बैठकको अध्यक्षता ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले गर्दै आउनुभएको छ ।

यसैगरी राष्ट्रिय सभा उपाध्यक्ष पदको निर्वाचन चैत २३ गते हुने भएको छ । संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार चैत २२ गते दिउँसो २:३० देखि ३:३० सम्म राष्ट्रिय सभाका कुनै सदस्यलाई सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव पेस गरिनेछ । यस्तै अपराह्न ४ बजे दर्ता भएका प्रस्तावको सूचनाको दर्ता सूची प्रकाशन हुनेछ भने २३ गते दिउँसो १:१५ बजे बस्ने बैठकले उपाध्यक्ष चयन गर्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.